रघुगंगा गाउँपालिका वडा नं ३ राखु पिप्लेमा आयोजित भलिबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–९ काउलेगौडाँ यूवा क्लव (केवाईसी)ले हात पारेको छ । हिन्दु नेपालीहरूको पर्व हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा रघुगंगा गापा–२ भगवतीलाई २–३ सेट हात पादै उपाधीमा कब्जा जमाएको हो ।प्रतियोगितामा पहिलो सेट भगवती, दोस्रो सेट केवाईसीले हात पारेपछि निकै प्रतिस्पर्धात्मक भएको खेलमा तेस्रो सेट भवगती र चौथो सेट केवाईसीले जितेको थियो ।

निकै घम्साघम्सी भएको खेलमा अन्तिम सेटमा १७–१९ अंक बटुल्दै केवाईसी घतानले उपाधी जितेको थियो । दुवै पक्षको आक्रमक खेल हेर्न मैदानमा खचाखच दर्शकको उपस्थिती थियो । राष्ट्रिय खेलाडी सुजन चोखाल, क्षेत्रीय खेलाडी सन्दिप क्षेत्री, लक्ष्छु श्रेष्ठ, शिव श्रेष्ठ, राम केसी, सन्दिप रामदाम, सुनिल सुन्दास मैदानमा थिए । उनीहरूसँगै भलिबल प्रशिक्षक समेत रहेका तेजेन्द्र बानियाँ समेत लामो समयपछि मैदानमा उत्रिएका थिए ।

भारतको बैंकलोर कर्नाटामा सम्पन्न भएको भलिबल कोचिङ सर्टिफिकेट कोर्षमा सर्वोत्कृष्ट भएका बानियाँ खेलाडीको रुपमा मैदानमा उत्रिएपछि खेल निकै आक्रमक भएको थियो । प्रतियोगितामा भगवतिको तर्फबाट क्षेत्रीय खेलाडी मनिस मल्ल, बिशाल भण्डारी, अशोक खत्री लगाएत जिल्लास्तरमा खेल्ने खेलाडीको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार, द्धितिय २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रले गण्डकी प्रदेशका सांसद विनोद केसी, गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले सम्मान गरेका थिए । वडा अध्यक्ष जीवन मल्लले वडास्तरमा हुने प्रतियोगिताले खेलकुदका प्रतिभाको पहिचान र अनुभवी खेलाडीबाट सिप हस्तान्तरण हुने बताए । पिप्लेको मेलामा लगातार केवाईसीले ९ पटकसम्म उपाधी जितेको छ ।

म्याग्दीमा भलिबल खेलमा केवाईसीको बचस्व रहेको छ । यसैबीच मेलाको अवसरमा आयोजित महिला भलिबलमा रघुगंगा गाउँपालिका १ तिप्लाङले जितेको छ । प्रतियोगितामा महिलातर्फको गलेश्वर भएको थियो । महिलातर्फको विजेताले क्रमश २० हजार, १० हजार नगद सहित सम्मानित भएका थिए । त्यस्तै बास्केटबल प्रतियोगितामा दग्नाम दर्मिजा प्रथम र आयोजक दोस्रो भएको थियो । बास्केटबलका विजेता र उपविजेताले क्रमश ४० हजार, २५ हजार प्राप्त गरेका थिए ।