घरघरमै बैंक खाता, नारच्याङका १०७ बर्षिय चन्द्रे फगामीले घरमै खाता खोले

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका १०७ बर्षिय चन्द्रे फगामीले घरआगनमै बैंकको खाता खोले । सदरमुकाम बेनीमा रहेका वित्तिय संस्थामा खाता भएपछि घरायसी समस्याले आवतजावत गर्न मुस्किल भइरहेको अवस्थामा खाता खोलेर घरआगनमै सामाजिक सुरक्षाभत्ता पाइने भएपछि ८६ बर्षिय केशमति तिलिजा, ८२ बर्षिय कुलबहादुर फगामी र बृद्धा मतिमा बुदुजाले पनि दंग छन् ।

गाउँपालिकाका केन्द्र पोखरेबगरमा रहेको गरिमा विकास बैंकको शाखाले घरदैलोमै पुगेर खााता सञ्चालन तथा वडास्तरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेपछि गाउँका वृद्धवृद्धा, एकल महिला, अपांगता तथा दलितलाई सहज भएको छ ।‘गाउँमै भत्ता पाउने भएपछि खर्च पनि कम हुनेभयो,‘यो सेवाले खुसी छौ’ बृद्ध कुलबहादुर फगामीले भने ।

उनीजस्तै वडाभित्रका विभिन्न बस्तीमा रहेका बृद्धबृद्धाले भत्ता लिन पोखरेबगर आउनुपर्ने बाध्यता हटाएर गाउँमै वितरण गर्न समेत अनुरोध गरेका थिए ।गाउँपालिकाले वडास्तरमै पुगेर भत्ता वितरण गर्ने अभियानलाई सघाउँदै बैंकले खाता खोल्ने तथा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको शाखा प्रबन्धक श्याम थापाले बताए ।

‘उहाँहरुलाई खातासँगै बैकको सेवा सहितको ज्ञान पनि दिन्छौ,‘घरमा एक्लै भएकालाई यो अभियानले बरदान सावित भएको छ’ थापाले भने । उनले पहिलोचरणमा सामाजिक सुरक्षा भत्ताका ६७ वटा खाता खोलिएपनि विस्तारै विद्यालयदेखि समुदायसम्म पुग्ने बताए । सोही अवसरमा वडा अध्यक्ष चन्द्रबहादुर फगामीले बैंकका प्रतिनिधिको उपस्थितीका बृद्धबृद्धालाई घरमै र अन्यलाई वडास्तरमा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्ने झण्झट पनि नहुने बताए । बैैंकिङ प्रणालीमार्फत रकम वितरण गर्दा सुरक्षित र पारदर्शी हुने बैंकले जनाएको छ ।