महिला हिंसा रोक्न दोषीलाई मृत्युदण्ड दिनेबारे छलफल गरौं : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताउनु भएको छ । यद्धपि उहाँले अहिले भएका कानूनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने पनि बताउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै भएकै संविधान, कानून र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पार्नु भयो । उहाँले अगाडि भन्नुभयो,‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घट्नामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानून बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’

साक्षात्कारमा उहाँले संविधान, कानून र ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हिंसाका घट्ना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभयो । अहिलेपनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारबाही भैरहेको उहाँले स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको उहाँको विश्वास थियो । उहाँले भन्नुभयो्,‘हामीले त्यहीअनुसारको महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री कानून तथा ऐनहरु बनाएका छौं ।’ संविधानको मर्म र भावनाअनुसार कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।’

मन्त्री थापामगरले अहिलेपनि महिलामाथि हुने हिंसाहरु यथावत रहेकोमा भने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘सरकार महिला हिंसाविरुद्धका घट्ना न्यूनीकरण गर्न गम्भीर छ । सरकारबाट ईतिहासमै नभएको काम भएको छ । हामीले महिला ंिहसाविरुद्धका अभियान सञ्चालन गरेका छौं । जुन यसअघिका कुनैपनि सरकारले गरेका थिएनन् । अहिले ७ वटै प्रदेशमा महिला हिंसाविरुद्धका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’ उहाँले २०७६ लाई सरकारले महिला हिंसाविरुद्धको अभियान वर्षको रुपमा मनाईरहेको पनि सुनाउनु भयो ।

मुलुकमा व्यवस्था परिवर्तन भएपनि अहिलेपनि पूरातन सोच, चिन्तन र व्यवहार परिवर्तन नभएको भन्दै मन्त्री थापामगरले चिन्ता व्यक्त गर्नुभयो । सरकार एक्लैको प्रयासबाट मात्रै महिला हिंसाको घट्ना न्यूनीकरण नहुने भन्दै उहाँले नागरिक समाज, सचेत नागरिक सबैले महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।