गण्डकी प्रदेशमा हुने भ्रष्टचारमा म्याग्दी सातौं स्थानमा

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये म्याग्दी भ्रष्टाचार हुने जिल्लाको सूचीमा सातौ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा म्याग्दी लमजुङ जिल्ला पछाडी रहेको छ । साविकको धौलागिरी अञ्चलमा दोस्रो नम्बरमा पर्वत र पाँचौमा बागलुङ रहेको छ भने नवौं नम्बरमा मुस्ताङ रहेको छ । म्याग्दीमा मात्रै ३८ वटा उजुरी दर्ता भएको थियो ।

जसमा २२ वटा फछ्र्यौट भएको अख्तियार दुुरुपयोग अनुसन्धान आयोग क्षत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए । उनका अनुसार डिभिजन बन कार्यालय, जिल्ला खेलकुद विकास समिति, स्वास्थ्य कार्यालय सहित जिल्लाका सरकारी सेवा, बिकास निर्माण लगाएतका विषयमा केन्द्रित भएर दर्ता गरिएको छ । अख्यितारको टोलीले बन र स्वास्थ्यमा स्टिङ अप्रेसन नै गरेको थियो भने अन्य उजुरी समेत रहेका छन् ।

म्याग्दीमा हुने भ्रष्टचारजन्य गतिविधिमा अख्तियारले कडा निगरानी बढाएको छ । भ्रष्टाचारजन्य उजुरीमा स्थानीय सरकार, भौतिक पूर्वाधार, बिद्यालय, नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको छन् । म्याग्दी जिल्लामा विकास निर्माणका गतिविधिमा सरकारी प्राविधिकको समेत ठेकेदारसँग मिलेमतोमा अनियमितता हुने गरेका गुनासो समेत चुलिएको छ । दर्जनौ गतिविधि गुपचुप राख्ने गरिएकाले पनि उजुरी नपरेको बताउँदै भ्रष्टचारजन्य गतिविधिमा म्याग्दीको अवस्था निराशजनक रहेको सरोकारावाल निकायको भनाई छ ।