पत्रिका बाँड्ने ‘हकर’को सन्देशमुलक जन्मदिन

धर्तीमा पाइला टेकेको दिनमा पनि दिउँसो सिमसिम पानीमा झोला र हातमा पत्रिका लिएर बेनीबजारको चोकमा भेटिएका गणेश सुबेदीको अनुहार उज्यालो थियो । सधै फुर्तिला देखिने सुबेदीको हाउभाउ, लगाएको कपडा हरेक दिनजस्तै थियो भने निधारमा राता अक्षताको टिका देखिदैनन् । जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घरभई हाल बेनीमा रिखार दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका वितरण गर्ने सुबेदीले जन्मदिनमा एक महिनाका तलब परोपकारी काममा खर्च गरे ।

बैक खातामा रहेको पैसालाई निकालेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यताका लागि ५ हजार ५५५ रुपैयाँ र चरम विपन्नताको कारण मृगौलामा समस्या देखिएपनि उपचारर्थ बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीको उपचारमा २ हजार २० रुपैयाँ सहयोग गरेका छन् । ‘मेरो बैंक खाता पनि रित्तै भएको छ,‘धन भएर पनि होईन्, मनले रोक्न सकेन केही सापटी लिएर सहयोग गरे’ सुबेदीले बेनीअनलाइनलाई भने ।

निम्न आर्थिक अवस्था भएका सुबेदीले उच्च शिक्षासँगै बेनीमा पत्रिकार वितरण गरेर पढाई खर्च जुटाउने गरेको अवस्थामा जन्मदिनको अवसरमा सामाजिक तथा मानवीय सेवामा सर्मपित संस्थाका विगतमा गतिविधिलाई हेरेर सहयोग गरेको बताए । उनले भविस्यमा जस्तो सुकै रोग लागेपनि सहयोग माग्न आउने घरमा पहिले नै सहयोग गरेको बताए । ‘धेरै मान्छेले उपचार पाएका छन्,‘समयमै उपचार पाएमा मृत्युलाई पनि रोक्न सकिन्छ भन्ने सन्देश दिएको संस्था पनि हो’ सुबेदीले भने ।

उनले सोही अवसरमा प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका  पोखरामा रहेकी निशा सुबेदीलाई समेत सहयोग गरेको बताए । साहित्यको क्षेत्रमा समेत सक्रिय रहेका सुबेदीले भविस्यमा पनि सानोसानो सहयोग भएपनि समाजमा गर्ने बताए । उनले पत्रिका वितरणलाई ब्यवसायसँगै सामाजिक चेतनाका लागि पनि सहज भएको बताउँदै भविस्यमा पत्रकारितामै सक्रिय हुने चाहना रहेको बताए ।