बेनी नगरपालिका–८ न्यूरोड  बस्ने मनिषा रत्न परियार विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–१ पाङ माइती भई शङ्कर रत्नसँग विवाह गरेकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् ।

भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । मुक्तिनाथ अपसेट प्रेसबाट भित्री गल्लीमा बस्ने परियार घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्क्विहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।‘खोजीकार्य भइरहेको छ,‘गर्भवती छिन्, स्वास्थ्य पनि राम्रो छैन्’ रत्नले बेनीअनलाइनलाई भने ।

पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर माईती पक्ष घर फर्किएका थिए। हराएको दिनको साँझ ७ः३० बजे मनिषाकी आमा सिर्जनाले फोन गर्दा शंकरले उठाएको र त्यसपछि साँझदेखि नै सम्पर्कमा नआएको परिवारको भनाई छ । ‘मोवाईल घरमै छ,‘खोजीकार्यमा अझैपनि भेट्न सकेका छैनौ’ आफन्तले भने । उनका अनुसार बेनीदेखि आफन्त भएका विभिन्न स्थानमा खोजीकार्य गरिएपनि सम्पर्क नभएपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

प्रहरीले समेत श्रीमान र सासुलाई अनुसन्धानको घेरामा राखेको छ भने घर समेत खानतलासी गरेको छ । मनिषा पक्षले भने घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेकी थिईन् ।

बास्तविकता खोजी गर्न भन्दै प्रहरीमा समेत निवेदन दिएपछि प्रहरीको छोलीले शंकरको घरभित्र समेत खोजी गदै थप अनुसन्धानलाई तिब्रता दिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । ‘मोवाईल समेत घरमै छोडेर गएकाले समस्या भएको छ,‘हामीले अनुसन्धानलाई फरक–फरक तरिकाले गरिरहेका छौ’ प्रनाउ मरासिनीले भने । स्थानीयले राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको देखेको बताएका थिए ।