अन्नपूर्ण गाउँपालिका–५ नारच्याङका चन्द्रे फगामी म्याग्दीको सबैभन्दा बृद्ध ब्यक्ति भएको बताइएको छ । बि.श १९७० फागुन २८ गते जन्मिएका फगामी १०६ बर्ष पुगेका छन् । केहीदिन अगाडी घरमै आयोजित एक कार्यक्रममा फगामीको उमेर सार्वजनिक भएपछि उनलाई जिल्लामा हालसम्म सार्वजनिक भएको सबैभन्दा बृद्ध भएको पाइएको वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले बताए ।

‘उहाँभन्दा धेरै उमेरका म्याग्दीमै छैनन्,‘सम्भवत् धौलागिरी भित्रकै जेष्ठ हुनुपर्छ’ फगामीले बेनीअनलाइनलाई भने । उनका अनुसार घरायरी काम, शौचालय तथा आफ्नो ब्यक्तिगत काम समेत गर्न सक्ने अवस्थामा रहेका चन्द्रे यसबर्ष १०६ बर्ष पुरा हुने बताउँछन् । गाउँपालिकाको केन्द्र पोखरेबगरमा रहेको गरिमा विकास बैंकको शाखाले घरदैलोमै पुगेर खाता खोल्ने क्रममा नागरिकताका आधारमा उनको उमेर सार्वजनिक भएको थियो ।

बयोबृद्ध फगामीले बैंक खाता खोलेको समाचार पहिलोपटक बेनीअनलाइनबाट प्रकाशित भएपछि उनलाई भेट्न जान थालेका छन् । शताब्दी अर्थात १ सय बर्ष पार गरेपछि पनि उनले धेरैपटक चरन क्षेत्रमा पशुचौपाय लिएर जाने गरेका थिए । दिलिसा पूर्जा, अभिसाा बुदुजा र हस्तिकला बुदुजा बयोबृद्ध फागमीका तीन छोरी हुन् । हिमालय आँखा अस्पतालमा शल्यक्रिया गरेपछि आँखा देख्छन भने कान कम सुन्ने गरेका छन् । ओछ्यानमा ढल्किरहने,खानपिनमा आनकानी गर्ने, नियमित औषधी उपचार, प्रेसर, ग्याष्ट्रिक, सुगर लगाएत रोगको आक्रमणबाट आजित हुने उमेर पार गरी १०६ बर्षमा प्रवेश गरेपछि स्थानीयले बयोबृद्ध फगामीलाई देउताको उमेर भन्दै दर्शन गर्ने गरेका छन् ।

यता मंगला गाउँपालिका वडा नं ३ सातविसेमा रहेकी आसिमा रोका १०४ बर्ष पुरा भईन् । गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र वडा नं ३ का अध्यक्ष कविन्द्र रोकाकी आमा आसिमाले १ सय बर्ष पुरा भएको उपलक्ष्यमा मंगला शिक्षा क्याम्पसलाई परिवारको तर्फबाट ५ लाख सहयोग गरेकी थिईन् । उनले सामाजिक क्षेत्रमा थुप्रै सहयोग गरेकी छन् ।

विज्ञापन