बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

0
226

राष्ट्रिय बाल दिवस–२०७६ को अवसरमा आइतबार म्याग्दीको सदरमुकाम बेनीमा बालबालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीको आयोजनामा जिल्लास्थित विभिन्न विद्यालय र बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।

दिवसको अवसरमा भानु माध्यमिक विद्यालय रत्नेचौरका कक्षा १० मा अध्ययनरत महेश किसान, जामुनाखर्क मावि अर्थुङ्गेका सुनिल महत र बालमन्दिर आधारभूत विद्यालय बेनीका सुस्मिता परियारलाई क्रमशः नगद एकहजार पाँचसय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी बालमन्दिर आधारभूत विद्यालय कालीपुल बेनीमा अध्ययनरत विद्यार्थीहरुलाई एकएक वटा कापी र कलम उपलब्ध गराइएको छ ।

छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले स–साना बालबालिकाहरुलाई माया, ममता र हौसला दिएर शैक्षिक क्रियाकलाप गराउनुपर्ने बताए । वर्तमान समयमा गुणस्तरीय, प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गर्नुपर्ने भन्दै शैक्षिक गुणस्तर विकासका लागि सरोकारवाला निकाय सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बाल अधिकार सुनिश्चित गर्नका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउँदै सबै बालबालिका विद्यालय आउने वातावरण निर्माण गर्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताएका थिए । बालमन्दिर आधारभूत विद्यालय कालीपुलमा गरिएको कार्यक्रम नेपाल बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतको अध्यक्षता, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको स्वागत र सदस्य नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply