सोमबार विहान दुईवटा जर्सी गाई र एउटा गोरू बेनी नगरपालिका भित्र प्रवेश गरे । कार्यालय समयमै प्रवेश गरेका पशुचौपायालाई कर्मचारीले बाहिर लखेटे । सडकको बीचमै बस्ने चौपायाले सवारी जाम समेत हुने गरेको छ । करिव तीनबर्ष अगाडी मध्यरातमा मोटरसाइकलले ठक्कर दिँदा न्युरोडमा गाई मरेको थियो ।

यो प्रतिनिधिमुलक उदाहरणमात्रै हो। सदरमुकाम बेनीमा छाडा पशुचौपाया दैनिकजसो सरकारी कार्यालय, सार्वजनिकस्थलमा रजाई छ ।साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो ।

सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढे पनि दीर्घकालीन व्यवस्थापनका लागि बेनी नगरपालिकाले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएका छन्। सवारीसाधनको चापका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनी हुँदै छाडाचौपाया भित्रिन थालेपछि दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर चोकबासीले व्यवस्थापनका लागि नगरपालिकाको पटक–पटक ध्यानार्कषण गराउँदासमेत नगरपालिकाले व्यवस्थापनमा चासो देखाएको छैन । नगरपालिका र वडास्तरबाटै चौपायाको व्यवस्थापनका लागि प्रयासको हल्ला मात्रै गरिएपनि कार्यान्वन हुन सकेको छैन् ।

नगरपालिकाले छाडा पशुलाई नियन्त्रणमा लिएर लिलामसहितका दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने मेयर श्रेष्ठको भनाइ छ। छाडा चौपायालाई नियन्त्रणमा लिएर बिक्री गर्ने वा कान्जी घर बनाएरसमेत राख्न सकिन्छ। कान्जी घरमा राखेर आवश्यक प्रक्रिया पूरा गरी लिलाम गर्न सकिन्छ।

स्थानीय सरकारमा छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था भएपनि नगरपालिकाले हरेक बर्ष बनाउने योजना नारामा मात्रै सिमित छ । छाडा चौपाया लैजानेलाई सित्तैमा दिने, रेडियोबाट विज्ञापन गर्ने बाहेक कुनैपनि दिर्घकालिन योजना नगरपालिकासँग छैन् । गाईले दूध दिने बेलासम्म गोठमै राख्ने गरिए पनि दूध दिन छोडेपछि बजारमा छोड्ने प्रवृत्तिलाई निरूत्साहित गर्न जनप्रतिनिधिले चासो नदेखाएको बेनीबजारबासीको गुनासो छ।