थोरै पैसा लगानीमा सुरक्षित र छोटो बाटो समुन्द्री तथा स्थलमार्ग हुदै अस्टेलिया पुगिने सपना बोकेर सातमहिना अगाडी इन्डोनेसिया पुगेकी बेनी नगरपालिका–९ तोरिपानीकी मुना खत्रीले नारकीय जीवन विताईन् । घरमा भएको केही आर्थिकसँगै ऋण खोजेर गतबर्षको कात्तिकमा नेपालबाट भारत हुदैं इन्डोनेसिया पुगेकी खत्रीको सपना चकनाचुर भयो । खत्रीसँगै नेपालबाट गएका ६ जनालाई अपार्टमेन्टमा बन्धक बनाई कुटपिट गर्ने र आर्थिक, शारीरिक तथा मानसिक शोषण गरियो ।

अस्टेलियामा पुगेर परिवारलाई सन्देश पठाउने योजना बुनेकी खत्री लगाएतका नेपालीले मानबतस्करीको जालोमा फसे ।  चर्को यातना दिदैं दलालले अस्टेलियाको बोर्डरमा पुगेको भन्दै थप पैसा माग्दा १५ लाखभन्दा बढी दलाललाई बुझाएपछि थप पैसा जुटाउन नसक्दा दलालकै मिलेमतोमा इन्डोनेसियन इम्रिगेसनमा जिम्मा लगाएपछि घटना सार्वजनिक भएको थियो। केही सहज भएपनि दलालसँगै मिलेका प्रहरीले यातना दिन छोडेनन् ।

इमिग्रेसनभित्रबाट समेत पैसा मगाउने प्रयास गरेपछि खत्रीले लुकाएको एउटा मोवाईलबाट आफन्त र बेनीका चन्द्रकुमार केसी र बेनीअनलाइनमार्फत खवर सार्वजनिक भएपछि सात महिनापछि कानुनी प्रक्रिया पुरा गरी खत्रीसँगै अलपत्र सबै नेपाली स्वदेश फर्किएका छन् ।‘अस्ट्रेलिया लैजोन नयाँ रूट इन्डोनेसिया बनेको छ,‘धेरै नेपालीहरू मानव तस्करको जालमा फसेका छन्’ उद्धार गरेपछि बेनी आएकी खत्रीले भनिन् ।

उनले इन्डोनेसियाबाट अस्टे«लिया र क्यानडा लैजाने भन्दै लाखौं रकम असुलेर इन्डोनेसियामा बन्धक बनाउने गरेको बताईन्।‘टिकट दिएर लैजाने, बन्धक बनाएर पैसा असुल्ने गिरोह छ,‘अन्तिम समयमा एउटा मोवाईलका प्रयोगबाट हामीले नयाँ जीवन पायौं’ खत्रीले भनिन् । उनले अस्टेलियाको तस्वीर राखेर घरमा पैसा मगाउने गरिएको बताउँदै सयौं नेपालीहरूलाई अलपत्र पार्ने योजना रहेको बताईन् ।

Fake Visa नेपालीलाई तीनदिनमा एकछाक खान दिएर राहदानी जफत गर्ने गरिएको थप घटनाहरु पनि सुनेको खत्रीको भनाई छ ।
इन्डोनेसियामा रहेका नेपाली दलाल शिव शर्मा र अस्मिरा चौलागाईले भारत पन्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका परषोत्तमलालको सहयोगमा नेपालबाट ल्याएर यातना दिने गरेको पीडितको भनाई छ । १० लाखमा अस्टे«लिया पुगिने बताएपनि बन्धक बनाएर कुटपिट गदैं ३० लाखसम्म असुलेर अलपत्र पारेको भेटिएको उनीहरुको भनाई छ।

‘नेपाली दलालको सहयोगमा भारतीयले पैसा माग्ने गर्दथे,‘मार्ने योजना सुनाउन थालेपछि नेपालबाट पैसा ल्याउन बाध्य हुन्थ्यौ’ उद्धार गरिएका बिक्रम बरालले भने ।बरालसँगै बिजय लामा, र गणेशप्रसाद रिजाल समेत नेपाल फर्किएका छन् । सोही समुहले नेपाली दलाल चौलागाई र शर्मालाई समेत सँगै ल्याएर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट प्रहरीको जिम्मा लगाइएको थियो।

त्यस्तै ‘जर्नी टु अस्ट्रेलिया’ नामको फेसबुक पेजबाट सम्पर्कमा आएका थप नेपालीलाई ल्याउन नेपाल आएका मुख्य दलाल पुरषोत्तमलाललाई समेत केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोले पक्राउ गरेको अलपत्र नेपालीको उद्धारमा सक्रिय चन्द्रकुमार केसीले बताए । ‘म्याग्देली चेलीको प्रयासमा एउटा अन्तराष्ट्रिय मानवतस्करको जालो टोड्न सफल भएका छौ,‘सयौं नेपाली यूवालाई इन्डोनेसिया लैजाने प्रयास असफल भएको छ’ सामाजिक अभियान्ता समेत रहेका केसीले भने ।

खत्रीले ज्यान जोखिममा मोलेर लुकाएको एउटा मोवाईलको आधारमा सम्पर्क गरी इन्डोनेसिया हुदै अस्टेलिया र क्यानेडा पठाउने भन्दै नेपाल लगाएतका धेरै देशबाट लगेर पैसा असुल्ने र अलपत्र पार्ने अन्तराष्ट्रिय मानब तस्करको जालो सहजै जोड्न सफल भएको बताउँदै थप मानवतस्करको खोजीकार्यका लागि नेपाल सरकारलाई सहज भएको बताए ।

परषोत्तमलाल फेसबुक र मेसेजमार्फत नेपाली दलालको सहयोगमा बेलायत र यूरोपका विभिन्न देशको नक्कली पासर्पोट बनाएर फसाउने गरेको अनुसन्धानमा भेटिएको मानव बेचविखन तथा नियन्त्रण ब्युरोले जनाएको छ ।

बन्धक अवस्थामा रहेका नेपालीको प्रयासमा मुख्य दलाल सहित नेपालका सम्पूर्ण सहयोगीलाई पक्राउ गरिएको छ । भिसा लगाउन भनी प्रतिव्यक्ति १५ लाखदेखि २० लाख रुपैयाँसम्म रकम असुल गरी, काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसियामा पुर्याउने गरेको र पीडितको राहदानी, नगद तथा भिसासमेतका कागजात नियन्त्रणमा लिई अलपत्र पार्ने गरेको खुलेको छ ।

मुख्य नाईके सहित पक्राउ
नेपालबाट अवैध बाटो प्रयोग गरी विभिन्न प्रलोभनमा फसाउने गरेका मानबतस्करलाई पक्राउ गरिएको छ । रोजगारीका लागि अस्ट्रेलिया लैजाने भन्दै इन्डोनेसियामा नेपाली अलपत्र पार्ने एक भारतीयसहित ६ जना पक्राउ परेका छन्। मानव बेचविखन तथा नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पन्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका ३० वर्षीय परषोत्तमलाल छन्। उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट पक्राउ गरिएको हो।

यस्तै दोलखाको गैरीमुदी गाउँपालिका १ का ३० वर्षीय शशी लामा भन्ने शशीकुमार तामाङलाई ठमेलस्थित सोफिया क्याफेबाट र म्याग्दीको बेनी नगरपालिकाका ३० वर्षीय डोलेन्द्र कार्कीलाई माइतीघरबाट पक्राउ गरिएको छ।पर्वतको कुस्मा नगरपालिका ३ का २७ वर्षीय शिव शर्मा र काभ्रेको चौरीदेउराली ९ की २२ वर्षीय अस्मिरा चौलागाईं त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ परेका छन्। काभ्रेको पनौती नगरपालिका ४ का २८ वर्षीय अर्जुन कार्की पनि आइतबार बबरमहलबाट पक्राउ परेको ब्युरोले जनाएको छ।

उनीहरूले संगठित रुपमा अस्ट्रेलियामा आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूले यस्तै प्रलोभनमा पारेर विभिन्न स्थानबाट काठमाडांै ल्याउने तथा ‘जर्नी टु अस्ट्रेलिया’ नामको फेसबुक पेजको प्रयोग र मेसेजसमेत गरी मानिस भेला पार्ने गरेका थिए। गिरोहसँग संलग्न अन्यको खोजतलास भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। स्रोतका अनुसार यो गिरोहले यूरोपियन मुलुकमा मानव तस्कर गर्ने गरेको अवस्थामा ठूलो सफलता मिलेको बताइएको छ ।

विज्ञापन