बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटमा परेका छन् । बिरामीहरुका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गैरहेको तातोपानीका मुहान म्याग्दीखोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भलबाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड पर्दछन् । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा रहेको कुण्ड रहेको छ ।

वर्षैपिच्छे असार महिनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहानहरु पुरिने गरेका छन् ।यसवर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएकोे तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।

‘कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएको छ,‘स्नान गर्न जाने बिरामीहरुले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन्’ शाक्यले भने । तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो । वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोला नजिकै रहेका दुईवटै कुवामा परेको छ । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गरेको छ ।

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीहरुका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था गरिएको छ । महिलाका लागि ३ ओटा ड्रम र पुरुषका लागि २ ओटा छुट्टाछुट्टै ड्रमहरु राखी त्यसमा पानी भरेर बिरामीलाई नुहाउने व्यवस्थापन गरिएको छ । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीहरुलाई नै लक्षित गरेर कुण्डभित्रै नुहाउने व्यवस्था मिलाइएको हो ।

कुण्ड व्यवस्थापन समितिको तर्फदेखि भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको समितिले जनाएको छ । कुण्डमा स्नान गर्ने विरामीले समेत नुहाउने धारा र मुहान पुरिएपछि समस्या भएको बताउँदै पक्की पर्खाल बनाएर संरक्षण गर्नुपर्ने बताएका छन् । गएको वर्ष अविरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथी थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमिन भासिएको थियो ।

तातोपानी कुण्डमा हाल दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामीहरुले स्नान गर्दै आइरहेका छन् । दैनिक झण्डै १५ जना नयाँ बिरामीहरु थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ । तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी लगाएत विभिन्न रोग निको हुने जनविश्वासले बर्षेनी २० हजार विरामी उपचारका लागि आउने गर्दछन् ।

विज्ञापन