म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जादै गरेको ट्याक्सी पर्वतको कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले बगाएको छ । म्याग्दीलाई राष्ट्रिय राजमार्ग जोड्ने बेनी–पोखरा सडक खण्ड अन्तरगत पर्ने उक्त सडकखण्डमा ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो । खोलामा भेल आएको देखेपछि बिरामी उनका आफन्तलाई केही पर नै झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पु¥याउँदा हिलोमा फसेको थियो ।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सोही ठाउँमाअबरुद्ध भएको कुस्मा पोखरा सडक खण्ड दोहोरो रूपमा खुलाउने प्रयास भइरहेको छ ।

गिलमेरी खोलामा आएको बाढीले गिट्टी र ढुङ्गा सडकमा थुपारेकोले जेसीबीको सहायताले एकतर्फी रूपमा मात्र बाटो सञ्चालनमा आएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो । खोलामा अहिले पनि ठुलो भेल आएका कारण पोखरादेखि कुस्मा हुँदै बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरू जाममा परेका छन ।प्रहरीले बिहानैदेखि एकतर्फी रूपमा बाटो खुलाएको भए पनि दुईतर्फी रूपमा बाटो सुचारु हुन भने केही घण्टा लाग्न सक्ने प्रहरीको अनुमान छ ।

उता, पोखरा बागलुङ सडक खण्डको पर्वत जिल्लामा पर्ने साना र ठुला पहिरोहरू पन्छाएर सडक सुचारु गराइएको भए पनि पर्वत र कास्कीको सिमानामा आएको पहिरो खुल्न भने कम्तीमा पनि चार घण्टा लाग्ने अनुमान गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने झोबाङको भिरबाट खसेको पहिरोले पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।गएराती झन्डै एक बजेको समयमा ठुला चट्टानहरू सहित आएको पहिरो पन्छाउन निकै सकस परिरहेको पहिरोस्थलमा रहेका ट्राफिक प्रहरी हवलदार आशिष क्षेत्रीले बताउनुभयो ।

कास्कीको पोखरा हुँदै साबिकको धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका लागि छुटेका धेरै सवारीहरूको कास्कीको ढावामा नै रातीदेखि नै रोकिएको प्रहरीले जनाएको छ । यस्तै, कास्कीकै नागडाँडा नजिकै पोखरा बागलुङ सडक खण्डमा नै पहिरो झरेको छ । नागडाँडाको पहिरो खुलाउनको लागि बिहानैदेखि प्रयास भइरहेको छ । यसैगरी, कास्कीकै हेम्जा नजिकैको फेदीको भीरमा पनि पहिरोले पोखरा बागलुङ सडक खण्ड अवरुद्ध गराएको छ । त्यहाँको पहिरो पनि खुलाउने प्रयास भइरहेको छ ।