प्रसुति सेवाका क्रममा पिसावमा समस्या देखिएपछि पोखरामा उपचारार्थ बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई पूलाचौरमा २४ हजार संकलन गरिएको छ। चरम विपन्नताको कारण पोखरामा उपचारको क्रममा मृगौलामा समस्या देखिएपछि आर्थिक अभावले छटपटाइरहेकी सुबेदीको उपचारलाई रामप्रसाद सुबेदी र सन्तोष सुबेदीको पहलमा पहिलो चरणमा आर्थिक संकलन गरिएको हो ।

गत महिना साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट समेत बेवास्ता गरिएको अवस्थामा नेत्रराज सुबेदीको संयोकत्वमा सुरु भएको निशा बचाउ अभियानमा स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।

सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । उपचारको क्रममा ३ सय एमएल पिसाव भइरहेको अवस्थामा अहिले सुधार भएर ६ सय एमएलसम्म देखिएको चिकित्सकले जनाएको छ । नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् ।