म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको छ । हिमाल आरोहणको सिजन सुरू भएसँगै नेपालमा रहेका हिमालमा दोस्रो रोजाईमा विश्वकै सातौ अग्लो धौलागिरी परेको छ । नेपालको १७ हिमालको लागि ४७ देशका आरोहीहरूले आरोहण अनुमति लिएकोमा मनास्लु आरोहीको पहिलो रोजाइमा परेको छ भने म्याग्दीमो धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणको लागि २ समूहका ३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाभन्दा धेरै मनास्लु हिमाल (८१६३ मि.) २६ समूहका २६० जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए । सगरमाथाका लागि २ समूहका जम्मा १० जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् ।
धौलागिरी हिमाल रघुगंगा गाउँपालिकाको सिमानासँग समेत जोडिएको छ । छिमेकी जिल्ला मुस्ताङबाट समेत हिमालमा पुग्ने गरिएपनि आरोहणका लागि पश्चिम म्याग्दी हुदै आधार शिविरमा जाने गर्दछन् । सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरीको आरोहण गरेको रेकर्ड देखिन्छ ।तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भएपनि १९४९ मा स्विस हवाई सर्वेक्षण अज्ञात रहेको थियो ।
स्थानीय भुधरातालमा भएको अग्लाईको आधारमा धौलागिरी जस्त अर्को हिमाल विश्वमै नभएकाले पनि आरोही आर्कषित हुने गरेका धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बेनीअनलाइनलाई बताए । ‘आरोहीको संख्या बढ्दै गएको अवस्थामा पूर्वाधार विस्तारमा पनि उत्तिकै प्राथमिकता दिनुपर्छ,‘धौलागिरी विश्वकै सुन्दर गन्तब्य हो’ बानियाँले भने ।
उनका अनुसार ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल कालिगण्डकी गल्छीको वारीपारी रहेकाले पनि पर्यटकलाई अवलोकन तथा आरोहणको रोजाईमा परेको बताए ।
गतबर्षको सिजनमा ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न हिमाल आरोहणमा निस्किएका निर्मल पूर्जाले विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण गरेका थिए । आफ्नै जन्मभूमीमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पूर्जा म्याग्दीको दानाका हुन् । धौलागिरी र १० औ स्थानमा रहेको अन्नपूर्ण हिमालमा यसअगाडी कुनैपनि म्याग्देलीले आरोहण गरेका थिएनन् । विश्व किर्तिमानीको अभियानमा रहेका पूर्जा अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चामा छन् । उनले धौलागिरी विना अक्सिजन नै आरोहण गरेका थिए । उक्त आरोहणलाई बेलायती सञ्चारमाध्यमले निकै प्राथमिकता दिएका थिए ।

धौलागिरीको रोयल्टी ३१ लाख
धौलागिरीको रोयल्टी ३१ लाख ६ हजार तीनसय ५० रुपैयाँ रहेको छ । म्याग्दीमा रहेको हिमालको रोयल्टीको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ । आरोहीहरूले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण वापतको रोयल्टी तिर्नुपर्ने हुन्छ। त्यस्तै उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालको अवलोकनका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
त्यस्तै धवलागिरी गाउँपालिकामा रहेको गूर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च समेत ठूलो भएपनि जिल्लामा त्यसको फाईदा पुग्न सकेको छैन् । गतबर्ष गूर्जा हिमालको आरोहणको क्रममा हिमआँधीमा परी मृत्यु भएका दक्षिण कोरियाली नागरिक सहितको नेपाली टोलीको ज्यान गएको थियो । धवलागिरी गाउँपालिक वडा नं १ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि हिमालमा सुनसान जस्तै भएको छ ।