पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका केन्द्र दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर हुने भएको छ । मंगला गाउँपालिका–१ कुहुँ तुसारेपानी स्थायी भएका मोना अस्टेलियाका अध्यक्ष मुक्ति रोकाका छोराछोरीले विभिन्न खर्च कटाएर जम्मा गरेको आर्थिकले आगामी असोज ११ र १२ गते शिविर गर्ने भएका हुन् । शिविरमा साधारण दन्त जाँच, मेसिनबाट दाँत भरिने, हालिएको, कुहिएको र किराले खाएको जस्तो समस्या, अशक्त दाँतको शल्य निकासका साथै दन्त स्वास्थ्य परार्मश दिइने मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार गाउँपालिका भित्रका सबै वडाका साथै छिमेकी गाउँपालिका मंगला र धवलागिरीमा समेत प्रचारप्रसार गरिएको बताए । यता शिविरका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीलाई तिब्रता दिइएको मोना अस्टेलियाका अध्यक्ष रोकाले बताए । ‘दाँतको समस्या भएकालाई शिविरमा उपस्थित हुन अनुरोध गर्दछु,‘गाउँबस्तीमा लुकेका विरामीहरुलाई सहज हुने अपेक्षा गरेको छु’ रोकाले भने । अस्टेलियाबाट नेपाल विदामा आउने क्रममा रोकाले छोराछोरीको खाजा तथा अन्य खर्चबाट सामुदायिक विद्यालयमा सहयोग, विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण लगाएतका कार्यहरु गर्ने गरेका छन् । स्वर्गीय आमा पविसराको स्मृतिम हरेक बर्ष कुहुँमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।