बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीको काउले कृषक समूह नवीकरण गर्ने भन्दै समूहका अध्यक्ष गणेशबहादुर कार्की बेनी नगरपालिकाको कार्यालयमा पुग्दा उनले नवीकरण गर्ने ठाउँ भेटाएनन् । नगरपालिकामा बुझ्दा उनलाई कृषक समूह नवीकरणका लागि कृषि ज्ञान केन्द्र म्याग्दीको कार्यालयमा पठाइयो ।

तर, त्यहाँ पनि उनले कृषक समूह नवीकरणको काम गर्न सकेनन् । त्यहाँबाट पनि उनलाई संघीयता कार्यान्वयनसँगै सबै अधिकार स्थानीय तहमा गएको हुँदा बेनी नगरपालिकामै गएर समूह नवीकरण गर्नु भन्दै फर्काइयो । पुनः नगरपालिका पुगेपछि बल्ल पो थाहा भयो उनलाई त्यहाँ त कृषि शाखा नै रहेनछ । नवीकरण गर्न तीनचार पटकसम्म नगरपालिका र कृषि ज्ञान केन्द्रमा धाउँदा पनि काम नभएको गुनासो गरे ।

समुहका अध्यक्ष कार्कीजस्ता नगरपालिका भित्रका समुह तथा कृषक कृषि शाखाको अभावमा हैरानी खेप्नु परेको छ। निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन्दै वडादेखि नगरसम्मका उम्मेवारले खेतबारीम पुगेर नगरबासीलाई आश्वासन दिएपनि कृषि शाखाको ब्यवस्थापन नहुदाँ कृषक अलमलमा परेका छन् । ‘कृषि ज्ञान केन्द्रले नगरपालिका भन्दै पन्छाउँछ,‘नगरपालिका भित्र कृषि शाखा नै हराएको छ’ अनुदानका बारेमा बुझ्न आएका एक कृषकले भने । उनले संघीयता कार्यान्वयन भएपनि जनतालाई अलमलमा पर्ने गरी जिल्लामा कार्यालय राख्ने र सेवा माग्न जाँदा भिक मागेजस्तै गराउने गरेको भन्दै आक्रोश पोखे ।

२०७२ सालमा जारी भएको नेपालको संविधानले व्यवस्था गरेअनुसार देशमा कुल ७ सय ५३ ओटा स्थानीय तहको व्यवस्था गरिएको छ । नेपाली जनतालाई आफ्नो घरदैलोमै सरकारी सेवा दिनका लागि भन्दै स्थानीय तहको गठन गरी कार्यान्वयनमा ल्याइएको हो । तर, ‘गाउँगाउँमा सिंहदरबार’ भनेर प्रचार गरेपनि स्थानीय तहबाट जनताले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भए पनि सरकारको अनुभूति नै गर्न पाएनन् ।

बेनी नगरपालिकाको कृषि शाखाका लागि कुल ४ जना कर्मचारीको दरबन्दी रहेपनि बेनी नगरपालिकामा हालसम्म कृषि शाखा स्थापना गरिएको छैन । कृषि शाखा नै नभएपछि कृषिसम्बन्धी कुनै पनि काम हुने कुरै भएन । कृषि शाखाका लागि नेपाल कृषि सेवातर्फ सातौं वा आठौं तहको १, सहायक पाँचौं तह २ र सहायक चौथो तहमा १ जना कर्मचारी रहने सामान्य प्रशासन मन्त्रालयको दरबन्दी तेरिजमा उल्लेख छ ।

बेनी नगरपालिकाको कुल जनसङ्ख्या ३३ हजार ४ सय ९८ रहेकोमा अधिकांश जनसङ्ख्या कृषिमा आश्रित छ । बेनपाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै वडाहरु कृषि उत्पादनका हिसाबले योग्य छन् । नगर क्षेत्रको अधिकांश भूगोलमा कृषि खेती हुने गरेपनि नगरपालिकामा कृषिको शाखा नै नहुनु गम्भीर विषय हो । कृषकहरु कृषिसम्बन्धी विभिन्न काम लिएर नगरपालिकामा गए पनि उनीहरुले सेवा पाउँदैनन् ।

यता बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापाले कृषि शाखामा ४ जना कर्मचारीको दरबन्दी रहेपनि हाल कृषि शाखामा कर्मचारी नभएको स्वीकार गरे । उनले कृषिमा जनशक्ति कम भएको, समायोजन भएर कर्मचारी नआएको र लोकसेवाले कृृषि र पशुतर्फ विज्ञापन नगर्दा समस्या भएको बताउँदै यसको समाधानका लागि नगरपालिकामार्फत आवश्यक पहल भैरहेको बताएका छन् । बेनपाको आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर बानियाँले आफूले पटकपटक कृषि शाखा स्थापनाका लागि पहल गरेपनि जिम्मेवार व्यक्तिहरुले नसुनेको बताए । कृषिसम्बन्धी अन्य सेवासुविधा लिनु त परै जाओस् समूह दर्ता गर्न पनि नसकेको भन्दै नगरपालिकाका जनप्रतिनिधि प्रति नगरबासीले तिब्र आक्रोश पोखेका छन् ।