पूर्वउपप्रधान तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पदको दुरुपयोग गरेको  गरेको आरोपसहितको समाचार सार्वजनिक भएको छ । केसीले आफ्ना दुई नातिका बाबुआमानै परिवर्तन गरिदिएको समाचार सुक्रबार साप्ताहिकले लेखेको छ ।तीनपटक सांसद भएका उनले आफू संविधानसभाको सभासद् भएका बेलामा कानुन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइदिएका हुन् ।

उनले दुवै नातिको बाबु मात्रै होइन, आमा समेत फेरिदिए । उनले २०६७ माघ ५ गते प्रशासनले पत्तै नपाई जेठा छोराका सन्तानलाई कान्छाका सन्तानमा परिवर्तन गरिदिएका हुन् । उनले सांसद भएका बेला आफ्नो प्रभावमा गाउँ विकास समितिबाट झुटो सिफारिस बनाउन लगाई सोहि सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट नाबालिग परिचय पत्र बनाउन लगाएको देखिन्छ ।

त्यति मात्र नभएर नेता केसीले त्यहि परिचय पत्रको आधारमा काठमाण्डौंबाट आकस्मिक राहदानी बनाएको पनि बताइएको छ ।यस विषयमा जनमोर्चाकी सांसद तथा चित्र बहादुरकेसी पत्नि दुर्गा पौडेलले यो ठूलो कुरा नभएको बताएकी छन् । उनले भनेकी छन्–‘केसीजीका कान्छा छोरा आफैं जापान आउने–जाने गर्थे ।

जेठा छोराको घरपरिवार बिग्रियो । त्यो भएपछि साना छोराहरुको बिचल्ली भयो । पछि हामीले जेठा छोराको जेठा छोरा जापान गएको कुरा थाहा पायौं । हामीले कसरी गएछ भनेर बुझ्दा कान्छाले आफ्नो छोरा बनाएर लगे भन्ने बुझियो तर, यसबारेमा पार्टीमा कुनै कुरा भने उठेन । हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै छोरा मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले कुरा उठाएका छैनन् । फेरि चित्र बहादुरजी आफै सहभागी भएजस्तै मलाई लाग्दैन । कानुनमा के कुरा छ, मलाई थाहा भएन तर यो ठूलो इस्यु हैन ।’