मालिका गाउँपालिका: मदिरा सेवन, होहल्ला र बेचविखन गर्नेलाई २५ सयसम्म जरिवाना (घोषणापत्र सहित)

म्याग्दीको मालिका गाउँपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । मदिराले सामाजिक विकृति मौलाएपछि विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मदिरा सेवन तथा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । संविधान दिवसको अवसरमा गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रममा सामाजिक हिंसा तथा विकृति बिरुद्ध अभियानको घोषणा गदैं तोकिएको समयमा मदिरा सेवन गर्नेलाई १५ सय जरिवाना र बेचविखनमा संलग्नलाई २५ सय जरिवाना समेत तोकिएको छ।

गाउँपालिकाभित्र सामाजिक तथा विभिन्न किसिमका हिंसाका घटनालाई न्यूनिकरण गर्न अभियानको सुरुवात गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।  उनले शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना, जातिय भेदभाव र दुब्र्यवहार बिरुद्धको सामुहकि प्रतिबद्धताले कार्यान्यन प्रभावकारी हुने बताईन् ।

‘सामाजिक हिंसाका कारणलाई पहिचान गरिएको छ,‘वडास्तरमा नेतृत्व जनप्रतिनिधिले गरेपनि सम्पूर्णका साथ आवश्यक छ’ बिटालुले भनिन् । उनले सामाजिक विकृतिको प्रमुख कारण मदिराको सेवन भएकाले त्यसलाई वडाभित्र कडाई गरिने बताईन् । ‘मदिरा सेवन गर्ने समय तोकिएको छ, होह्रल्ला गर्नेलाई पनि जरिवाना गरिन्छ’ विटालुले भनिन् । उनले वडाका जनप्रतिनिधिको नेतृत्व सहित सरोकारावालाको उपस्थिती हुने वडास्तरीय समिति समेत बनाइएको बताईन् ।

घोषणापत्रमा १९ बर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तिजन्य र मदिराजन्य पदार्थको ओसारपसरा गर्ने लगाएमा कानुन बमोजिम सजाय, जुवातास प्रतिबन्धका साथै सामाजिक कुरित अन्तरगत पर्ने जातिय भेदभाव, दाईजोमा दवाव लगाएतका गतिविधिमा संलग्नलाई समेत कारावही गरिने गरी विभिन्न बुदाँ सहितको घोषणापत्र वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

घोषणासभामा बोल्दै वडा अध्यक्ष सुबेदीले प्रतिबद्धतालाई कार्यान्वयन गर्ने वडाभित्रका सबैलाई अनुरोध गरेका थिए । मालिका गाउँपालिका अन्तरगत ७ वटै वडामा सुरु गरिने अभियान अन्तरगत शनिबार देविस्थान सहित सबै वडामा अभियान सञ्चालन गरिने छ । घोषणापत्र अनुसार अनुगम समिति समेत बनाइने गाउँपालिकाले जनाएको छ ।

घोषणा पत्र-२०७६

मालिका गाउँपालिकाका  वडा न ६ मा जारी गरिएको १० बुदे घोषणा पत्र:

  • विहान ५ बजे देखि बेलुका ५ वजे सम्म मदिरा सेवन पूर्ण रुपले बन्ध गर्नुपर्ने छ यदी सेवन गरेको पाइएमा पहिलो पटक रु १०००। र देस्रो पटक रु.१५०० का दरले जरिवाना हुनेछ यदी दोहोरीरहेको पाइएमा कानुन बमोजिम जरिवाना गरीनेछ।
  • मदिरा सेवन गरी होहल्ला गरेमा निजलाइ माथिको सहित थप रु २००० जरिवाना लाग्नेछ ।
  • मदिरा जन्य पदार्थ बिहान ५ देखि बेलुका ५ बजे सम्म बेचविखन गर्न पाइने छैन यदि बेचबिखन गरेको पाइएमा रु २५०० जरिवाना लाग्नेछ ।
  • धार्मिक तथा परम्परागत रुपमा चलिआएको विवाह, काजक्रीया, छेवर/वर्तवन्ध, जस्ता कार्यक्रममा परम्परागत अनुसार चढाउनको लागी प्रयोग बाहेक अन्य कार्यक्रममा प्रयोग गर्न पाइने छैन । यदि अटेर गरेमा कानुन बमोजिम सजाय हुनेछ ।
  • मालिका गाउँपालिका गा.पा.६ भित्र कुनै चाडपर्वको नाउँमा मेला जात्रा आयोजना गरी मदिरा जन्य पदार्थको प्रयोग भएमा कानुन बमोजिमको सजाय हुनेछ ।
  • १८ भन्दा कम उमेको बालबालिकालाइ सुर्तिजन्य र मदिरा जन्य पदार्थ ओसार पसार गर्न लगाएमा वा लगाएको पाइएमा कानुन बमोजिम सँजाय हुनेछ ।
  • गाउँपालिका वडा नं ६ भित्र घर, समुदाय वा सार्वजनिक स्थलमा समेत जुवा,तास खेल्न खेलाउन पाइने छैन यदी खेलाएको पाइएमा वा खेलेमा जुवातास ऐन २०२० बमोजिम कानुनी कार्वाही हुनेछ ।
  • भाँङ्ग लगाएको वा कतै देखिएमा विरुवानै नष्ट गरीनेछ ।
  • मालिका वडा नं ६ भित्र कुनै किसिमको सामाजिक, आर्थिक, लैङ्गिक, धार्मिक, राजनितिक,संवेगात्मक जस्ता हिँसात्मक गतिविधि, गर्न पाइनेछैन यदि गरेको पाइएमा कानुन बमोजिम सजाय हुनेछ ।
  • परम्परागत संस्कृति जोगाउने बहानामा जातिय छुवाछुत, बोक्सी प्रर्था जस्ता कुरिति र विसंगतिहरु गर्न पाइदैन यहि गरेको पाइएमा कानुन बमोजिम सजाँय हुनेछ ।