नवलपरासी पश्चिममा परपुरुषसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३, घोडापाली आदर्शटोलमा बस्ने ४१ वर्षीय तारा भन्ने रविन्द्रप्रसाद पाण्डेलाई उनकै श्रीमतीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । श्रीमती सरस्वती पोख्रेल (पाण्डे)ले परपुरुषसँगको मिलेमतोमा श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो।

भदौ १८ गतेदेखि रविन्द्रप्रसाद पाण्डे हराइरहेका थिए ।उनको खोजी गर्नेक्रममा शुक्रबार वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिशुसिल आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा शव सडिसकेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । प्रहरीले रविन्द्रको हत्या श्रीमती सरस्वतीले नै गरेको भन्दै पक्राउ गरेर सोधपुछ गर्दा घटना खुलेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । हत्यामा संलग्न उनीसँगको सम्बन्धमा रहेका पुरुषको खोजीकार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।  Source: ujyaaloonline.com