आर्कषक पदमार्गले जोडिएको बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलमा घुम्न जानेको घुईचो लाग्न थालेको छ । यूवापुस्ताको अत्याधिक रोजाईमा रहेको तथा जमघट हुन थालेपछि लभ्लीहिल नामाकरण गरिएको पर्यटकीयस्थलमा पछिल्लो समय जिल्लाभित्रका साथै विभिन्न जिल्लाबाट म्याग्दी तथा मुस्ताङ आउने आन्तरिक पर्यटकहरू समेत पुग्ने गरेका छन् । शनिबार एकाविहानै म्याग्दीका विभिन्न विद्यालयबाट लभ्लीहिलमा पुगेर विद्यार्थीले लभ्लीहिल निकै राम्रो पर्यटकीय गन्तब्य भएको बताएका थिए ।

नेपाल रेडक्रस सोसाईटीले बेनीमा आयोजना गरेको गोष्ठीमा सहभागी हुन आएका शिक्षक तथा विद्यार्थीलभ्लीहिलमा बनेका पूर्वाधार तथा त्यहाँबाट देखिने दृष्यबाट उत्साहित भएको बताए । ‘पहिलोपटक यहाँ आउनु अवसर पाए,‘पूर्वाधारले पनि आवतजावतमा सहज भएको छ’ भकिम्लीका भोज जिसीले भने । उनले विद्यार्थीको चाहना अनुसार नयाँ पदमार्ग हुदै आएको बताउँदै लभ्लीहिल नयाँ र सुन्दर पर्यटकीय गन्तब्यको रुपमा चिनेको बताए ।

जिल्लाका ४० विद्यालयमा गठन भएको जुरेसका विद्यार्थी, शिक्षक नायकहरुले लभ्लीहिलमा थप पूर्वाधार विस्तारका सम्बन्धित निकायले चासो देखाउनुपर्नेमा जोड दिएका छन् ।बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा सम्पन्न भएको ‘मोना–बेनी–लभ्लीहिल’ पदमार्गले समेत लभ्लीहिलमा पुग्ने पर्यटकलाई सहज भएको छ ।

सडक तथा पदैलमार्ग हुदै पुग्न सकिने भएकाले पनि अधिकांस नयाँ पदमार्ग हुदै लभ्लीहिलमा पुग्ने गरेका छन् । बेनीको शीरमा अवस्थित लभ्लीहिलमा सदरमुकाम बेनीबाट करिव २५ मिनेटको पैदल र सवारीसाधनमा १० मिनेटमै पुगिन सकिने लभ्लीहिल पूर्वाधार समितिका अध्यक्ष धुर्वराज कार्कीले बताए ।  लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । विहानी समयमा यात्रा गर्नेहरुको समेत भिड लाग्न थालेपछि स्थानीय उत्पादन तरकारी र फलफुलको विक्री समेत ह्वात्तै बढेको छ ।

विज्ञापन