बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीदे बगाउँदा दुई बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १० बर्षिया सर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन् । शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले मायाँ परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षती भएको छ भने पाँच घरमा समान्य क्षती पुगेको छ । त्यस्तै बुद्ध एकेडेमी विद्यालय पूर्णरुपमा क्षतीग्रस्त भएको छ । विद्यालयको कक्षाकोठा बाढीले पूर्णरुपमा क्षती भएको छ ।

एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुईजना बालबालिका बेपत्ता भएको मायाँ परियारले बताईन्।‘एक्कासी घरभित्र खोला पसेपछि भागाभाग भयो,‘भाग्दै गर्दा दुईजनालाई बगायो’ उनले बेनीअनलाइनलाई भनिन् । भाग्ने क्रममा केही समान्य घाईते समेत भएका छन् ।

बगरफाँटमा भएको क्षतीको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । कोटखोलाले धार परिवर्तन गर्दा मानवीय र भौतिक क्षती भएको स्थानीयको भनाई छ । यसैबीच हाँडेभिरदेखी कोटखोलासम्म करिव आधादर्जन स्थानमा साना पहिरोले बाटो अवरुद्ध भएको छ । हाँडेभिरबाट लभ्लीहिल जाने मार्ग नजिकैबाट अवरुद्ध भएको छ । अविरल वर्षाले बगरफाँटको सडक हिलाम्मे भएको छ ।