जलवायु तथा मौसम विज्ञान महाशाखाले अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ । मनसुनको अवधी भोलि सेप्टेम्बर २३ सम्मको मात्रै भए पनि कम्तिमा एकसाता लम्बिने अवस्था देखिएको महाशाखाले जनाएको हो ।

एक हप्तासम्म केही वर्षा पनि हुने र घाम पनि लाग्ने खालको अवस्था देखिएको छ । पूर्वानुमान महाशाखाले जारी गरेको वक्तव्यमा आज देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ ।

भोलि र पर्सि पनि देशभरी आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ् तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।