बेनी–जोमसोम सडकखण्डमा गुडिरहेको बोलेरो जीपमाथि ढुंगा खस्दा तीनजना यात्रु घाईते भएका छन् । बेनीबाट मुस्ताङ जाँदै गरेको जीपरघुगंगा गाउँपालिका–३ घुमाउने तालमा सडक ग १ ज ७०६२ नम्बरको जीपमा सडकमाथिबाट खसेको ढुंगा लाग्दा रुपन्देही जिल्ला देवदह नगरपालिका–५ का ७१ बर्षिय यामबहादुर विक, उनकी श्रीमति ६३ बर्षिया गंगी विक र बागलुङ नगरपालिका–३ का मन बहादुर थापा घाईते भएका छन् ।

जीपमा चालक सहित १४ जना यात्रु सवार थिए । गएरातीको अबिरल बर्षासँगै हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गरिरहेका यात्रुलाई घुमाउने ताल नजिककै पुग्ने बेलामा एक्कासी गाडी माथिको साईडमा ढुंगा बज्रिएको चालक शुसिल परियारले बताए । उनका अनुसार यात्राको क्रममा घाईते अवस्थाका विरामीलाई तत्कालै सोही गाडीमा बेनी अस्पतालमा ल्याइएको थियो । घाईतेमध्ये यामबहादुरको एक्सरे भइरहेको छ । उनको शरीरमा चोट लागेपनि अन्य घाईते खतरामुक्त रहेको जनाइएको छ ।