बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित क्षती हुने घरधुरी ८ पुगेको छ । बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा हराएका २ बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् ।

बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले बताए । उनका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ । यसैगरी, सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएको बताए । कोटखोलाले परम्परागत धार परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पुगेको हो । बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ ।

बाढीकै कारण बुद्ध एकेडेमी नजिकै रहेको ब्लक उद्योगमा समेत क्षति पुगेको छ भने स्थानीयको धानखेत पुरिएको छ । कोटखोलामा ठूल्ठूला रुख तथा दाउरा, ढुङ्गा, माटो र गेगरसहित आएको लेदोले बेनी–हाँडेभीर–बगरफाँट–सुर्केमेला हुँदै बराङ्जा जाने ग्रामीण सडक अवरुद्ध बनाएको छ ।

अहिले हराइरहेका २ जना बालिकाको खोजी भइरहेको छ ।बाढीबाट विस्थापित र प्रभावितको उद्दार गर्ने, राहत वितरणको काम भैरहेको बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए । नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले खोज, उद्दार एवं पीडितको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।

बाढीले क्षति पुर्याएपछि गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले स्थलगत रुपमा अवलोकन गरेका छन् ।  यसैबीच विभिन्न संघसंस्थाले राहत समेत उपलब्ध गराउन सुरु गरेका छन् ।

विपन्न र सार्वजनिक जग्गाका बसेकालाई सरस्वती आधारभुत विद्यालयमा राखिएको छ । यसैबीच विपद् ब्यवस्थापन समिति, स्थानीयका साथै लायन्स क्लव बेनी पिस सिटीले राहत वितरण गरेको छ । लायन्स क्लव बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियरपर्सन लोकेश पुनमगर र क्लवका अध्यक्ष नरेश श्रेष्ठले ३५ हजारको ग्यासचुला र भाडाकुँडा हस्तान्तरण गरेका छन् ।

विज्ञापन