जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा आइतबारदेखि औपचारिक रुपमा कक्षा ११ को अध्ययन तथा अध्यापन शुभारम्भ भएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माविमा शिक्षा सङ्कायतर्फ कक्षा ११ को पढाई सुरु गरिएको हो ।

कार्यक्रममा कक्षा ११ का नवआगन्तुक २४ जना विद्यार्थीहरुलाई अबिर तथा फुलमाला लगाएर स्वागत गरिएको छ । तत्कालीन प्रस्तावित माविका रुपमा रहेको विद्यालयले माविको स्वीकृती प्राप्त गरेको केही समयको अन्तरालपछि अहिले कक्षा ११ सञ्चालन गरेको विद्यालयले जनाएको छ । गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाएपछि नवआगन्तुक विद्यार्थीहरु उत्साहित बनेका छन् ।

कार्यक्रमको अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थी एवं पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले आफूले अक्षर आरम्भ गरेको भन्दै विद्यालयलाई नगद पाँचलाख ५५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेका छन् । आफ्नो गाउँठाउँको विद्यालयलाई भूपू विद्यार्थीको नाताले सहयोग गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको उनले बताए । हालसम्म सबैभन्दा धेरै सहयोग गर्नेमा सर्वोत्कृष्ट दानवीर बनेका भूपू विद्यार्थी बानियाँ विद्यालयको मानार्थ सदस्य समेत बनेका छन् ।

कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका थिए । अक्षयकोष स्थापना गरेको ५ महिनाको छोटो अवधिमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन भैसकेको छ । यसैगरी विद्यालयको आफ्नै २८ लाख रुपैयाँ रहेको हुँदा अक्षयकोष र विद्यालयको गरी कुल ५३ लाख रुपैयाँ विद्यालयको खातामा रकम रहेको छ । आगामी दिनमा सो रकमलाई वृद्धि गरी एक करोड रुपैयाँ अक्षयकोष पु¥याउने र त्यसको व्याजबाट भविष्यमा जनकल्याण माविले स्नातक तहसम्मको शिक्षा गाउँमै दिने लक्ष्य लिएको छ ।

कार्यक्रममा भूपू वडा अध्यक्ष एवं विद्यालयका पूर्व अध्यक्ष गणेशबहादुर हमाल, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँ, पूर्व विद्यार्थीद्वय एवं पौलस्त्य मावि भीरमुनीका शिक्षक गजेन्द्र श्रेष्ठ, जयन्ती मावि भकिम्लीका शिक्षक सन्तोष सुवेदी, पुलाचौर एकता युवा क्लबका सचिव बबी केसी, शिक्षक शान्ति शर्मा र विद्यार्थी अनुका बानियाँले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत र कक्षा ११÷१२ का संयोजक शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कक्षा १ देखि १० सम्म कुल २ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको विद्यालयमा १६ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।