शनिबार राती अविरल बर्षासँगै ग्रामिण क्षेत्र जोड्ने सडकका कारण माथिल्लो क्षेत्रबाट आएको बाढीले अस्पताल चोक र कालिपुल बसपार्क अस्तब्यस्त बनायो । अस्पतालचोक देखि जामुनाखर्क क्षेत्र जोड्ने ग्रामिण सडकबाट झरेको लेदोमाटो, ढुङ्गा र गेगरसहितको बाढीले बेनी अस्पतालको प्रवेशद्धारसँगै आसपासका क्षेत्रमा रहेका रघुनाथ स्टोरमा करिव १० लाखको क्षती भएको छ भने नजिकै रहेको खाजा घरमा समेत समान्य क्षती भएको छ ।

त्यस्तै कालिपुल बसपार्क, ट्राफिक प्रहरी कार्यालय लगाएत आसपासको क्षेत्रमा आइतबार दिउँसोसम्म अवरुद्ध भयो । सडकखण्डबाट आएको ढुङ्गा र गेगर पन्छाउन डोजेर र स्काभेटर नै प्रयोग गर्नुप¥यो ।मध्यरातमा एक्कासी आएको बाढीले बेनी अस्पतालको प्रवेशद्धार नै अवरुद्ध भएको थियो ।

 

केहीबर्ष अगाडी क्याम्पसचोकजस्तै अस्पताल चोकमा पनि बाढीले सताउने भन्दै विकास निर्माणको क्रमाम प्रक्रिया पुरा नगरी हचुवामा विस्तार गर्दा अस्पतालचोक, कालिपुल बसपार्क लगाएत आसपासका क्षेत्रमा असर गरेको स्थानीय राजकुमार श्रेष्ठले बताए । ‘तत्काल ब्यवस्थित नगरे हरेकबर्ष सताउँछ,‘बेनीको प्रवेशद्धार नै भएकाले पनि यहाँ ब्यवस्थित हुनुपर्छ’ उनले भने । सडक विस्तारमा पटकपटक मापदण्ड र जोखिम ब्यवस्थापनलाई ख्याल गर्न अनुरोध गर्दा समेत बेवास्ता भएको स्थानीयले गुनासो गरेका छन् ।

बेनीबजार माथिको क्षेत्रबाट विस्तार गरिएको बेनी–पाखापानी सडकखण्डबाट जथाभावी फालिएको माटोसँगै बगेर आएको लेदोले क्याम्पसचोकसहित बेनीबजारको १२० बढी घरमा असर गरेपछि बेनीबजार आसपासका क्षेत्रबाट सडक विस्तारलाई कम प्राथमिकता दिन प्राविधिकको टोलीले पटक–पटकको सुझावलाई बेवास्ता गर्दा बजार क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

अस्पतालचोकमा डेढ दशक अगाडीसम्म प्राकृतिक रुपमा रहेका खोल्सा रहेपनि बजार विस्तारसँगै च्यापेर घर सहितका पुर्वाधार बनाइएको छ ।क्याम्पसचोकबाट जामुनाखर्क जोड्ने सडकमा बेनपा ६ र ८ ले बजेट विनियोजन गरेको छ । बेनी–जामुनाखर्क दु्रत मार्गको नामाकरण गरिएको सडकखण्ड आसपासमा लेदोमाटो, पहिरो तथा सडक विस्तारको क्रममा यत्रचत्र फालिएको माटोले यसबर्ष तीनपटक अस्पताल चोकमा अवरुद्ध गरेको छ । करिव ६ लाखको लागतमा सम्पन्न भएको सडकखण्डमा पैदलयात्रा गर्न समेत मुस्किल छ ।

करिव १.६ किलोमिटर सडकखण्ड अन्तरगत विभिन्न स्थानमा तत्काल ब्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । बेनी नगरपालिकाले उपलब्ध गराएको बजेट समेत ब्यवहारिक रुपमा कार्यान्वयन नहुनु, जनताको सहभागिता न्युन, प्राकृतिक खोल्सीहरूलाई निकास सहित जथाभावी सडकको विस्तार, आवश्यक पुर्वाधार निर्माणमा समेत चासो नपुग्नु नै बाढीको प्रमुख कारण भएको प्राविधिक पक्षको भनाई छ ।

पक्की नाली, पानीको तिब्र गतिलाई नियन्त्रण र ठुला बस्तु रोक्ने छेकबाँध बनाउने र अस्पताल गेट देखि तल नाली सफा नगरे भिषण बर्षामा सधै बाढीको जोखिम रहने भन्दै स्थानीयले तत्काल सडक सुधार वा थप बजेटको माग गरेका छन् । बेनपा–८ को दलित बस्ती हुदै वडा नं ६ को जामुनाखर्क लगाएत आसपासका क्षेत्रमा बासेबास गर्ने बासिन्दालाई बेनी–महारानीथान हुदै जाने सडक फेरो भएपछि उक्त सडक खनिएको जनप्रतिनिधिको भनाई छ ।