म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् ।

बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति बेहोरेका पार्वती परियार र अनिता परिलाई नगद एकएक लाख रुपैयाँको चेक उपलब्ध गराएको छ । यसैगरी दिलप्रसाद जुग्जालीलाई नगद ५० हजार रुपैयाँ तथा राममाया परियारलाई २५ हजार रुपैयाँ दिएको हो । त्यस्तै विष्णु परियार, रमेश परियार, सेते किसान र रेशम परियारलाई आठहजार रुपैयाँका दरले नगद चेक उपलब्ध गराइएको बेनी नगरपालिकाले जनाएको छ ।

सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सबैलाई विपत्ति आउने भएकाले पीडितहरुलाई धैर्यधारण गर्न र नआत्तिन आग्रह गरेका छन् । नगद चेक हस्तान्तरण कार्यक्रममा बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षद्वय हिराबहादुर थापा, राजेन्द्रकुमार श्रेष्ठ, वडा सदस्य चन्द्रबहादुर कुँवर र नासु कृष्ण शाक्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले गरेका थिए ।

यसैबीच सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले नगद तथा जिन्सी गरी एकलाख पाँचसय रुपैयाँ बराबरको बाढी पीडितहरुलाई सहयोग गरेका छन् । लायन्स क्लबहरुले नगद ४५ हजार पाँचसय र ५५ हजार रुपैयाँ बराबरको ग्यास सेट ६ थान, त्रिपाल र प्रेसरकुकर ९÷९ ओटा सहयोग गरेको जानकारी दिए । उक्त नगद तथा जिन्सी सामानहरु हस्तान्तरण गर्दै लायन्स क्लबका डेपुटी चिप एडभाइजर सन्तोष रावलले लायन्स क्लबले आपत्विपदमा परेकालाई सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा लायन्स क्लबका एड्भाइजर सरोज बानियाँ, जोन चियरपर्सन दिलिप बरुवाल, रिजनचियरपर्सन सुनिता केसी, लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष चन्द्रप्रकाश बराईली, लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ, वर्तमान अध्यक्ष जानकी विश्वकर्मा, बेनी सिटीका अध्यक्ष कृष्णबहादुर बानियाँ, बेनी महारानीका अध्यक्ष रन्जिता शेरचन र बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले सहयोग हस्तान्तरण गरेका थिए ।

यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले बाढीबाट पूर्ण क्षति बेहोरेका बगरफाँटका दिलप्रसाद जुग्जाली, पार्वती परियार र राममाया परियारलाई १२ हजार रुपैयाँका दरले नगदसहित व्ल्याङ्केट, त्रिपाल, कम्बललगायत लत्ताकपडा, भाँडाकुँडा सहयोग गरेको छ । त्यस्तै आंशिक क्षति बेहोरेका रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई आठ हजारका दरले नगदसहित व्ल्याङ्केट, त्रिपाल, कम्बललगायत लत्ताकपडा, भाँडाकुँडाहरु सहयोग गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले पनि विस्थापितहरुलाई ११ थान त्रिपालसहित उनीहरु सबैलाई पुग्नेगरी लत्ताकपडा र भाँडाकुँडा सहयोग गरिएको उपसभापति अमर बानियाँले जानकारी दिए । अहिले विस्थापितहरुमध्ये दिलप्रसाद जुग्जाली आफ्नो छोरी ज्वाईँको घरमा बसेको र अन्य सबैलाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिएका छन् ।

Leave a Reply