बेनी नगरपालिका–६ नेपानेकी कर्णकुमारी मिजारले अस्पताल ल्याउँदै गर्दा शनिबार मध्यरातमा सडकमै बच्चा जन्माएकी छन् । घरमा सुत्केरी ब्यथाले च्यापेपछि रातिदेखि सवारीसाधनको प्रयोग गरी बेनी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो। अविरल वर्षाले बेनी–महारानीथान सडक अवरुद्ध भएपछि पैदल ल्याउने क्रममा धार्मिकस्थल महरानीथान नजिक अकस्मात छोरी जन्माएकी हुन् । करिव १५ मिनेट सडक मर्मतको प्रयास गरिएपनि असफल भएपछि जोखिम मोलेर बर्षामा रुझ्दै बाटोमै बच्चा जन्मिएको मिजारले बताईन् ।

‘ज्यानकै जोखिम थियो,‘हिलो नजिकै बच्चा जन्मियो’ उनले भनिन् । सुत्केरी भएपछि श्रीमान, आफन्तसँगै हिलाम्मे अवस्थामा राती २ः३० बजे अस्पतालमा पुगेका थिए । घरबाट ल्याइएको कपडामा बरेरे आमा र बच्चालाई चिसोमै अस्पतालमा ल्याइएको थियो । ‘हिलाम्मे अवस्थामै अस्पतालमा आउनुभएको थियो,‘बच्चा र आमा दुवैको अवस्था समान्य छ’ अनमी सुमित्रा थजालीले भनिन् । नवजात बच्चा, आमाको शरीर पुरै पानीले भिजेको अवस्थामा अस्पतालमा आएपछि चेकजाँच गरिएको थियो । त्यस्तै सोही सडकखण्डमा ब्यथातले च्यापेपछि सिकिस्त भएकी बेनी नगरपालिका वडा नं ९ की पवित्रा परियारले करिव एकघण्टा अलपत्र परिन् ।

पहिरोले सडक अवरुद्ध भएपछि बुद्ध बिहारबाट मंगलाघाट हुदै मोटरसाईकलमा अस्पतलामा पुगेलगत्तै छोरा जन्मियो । सडकमा अलपत्र पर्दा समेत विभिन्न् माध्यमबाट उद्धारका लागि गरिएको आग्रह बेवास्ता भएको सुत्केरीका आफन्तको भनाई छ । ‘जटिल अवस्थामा ज्यानकै बाजी लगानुपर्ने अवस्था भयो,‘एम्बुलेन्स आएनन्, थोरै सर्तकता नअपानाएको भए ज्यानै जान्थ्यो’ सुत्केरीका आफन्त गिता किसानले भनिन् ।

यता बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले सुत्केरी र बच्चा अवस्था खतरामुक्त रहेको बताए ।‘अस्पतालभित्र प्रवेश गरेलगत्तै नियमित चेकजाँच भइरहेको छ,‘विपद्मा समेत उहाँहरुले जोखिम मोलेर अस्पतालसम्म आउनुभयो’ डा. घिमिरेले भने । बाटोमा सुत्केरी हुँदा सुत्केरी र बच्चाको सरसफाई नहुने भएकाले पनि आमा र बच्चाको स्याहार ब्यवस्थित गर्नुपर्ने बताए । उनले बाढीपहिरोले सुत्केरी अवस्थाका महिलाहरूलाई समस्या हुने गरेको बताए ।  जिल्लाको दुर्गम क्षेत्रमा प्रसूती सेवा केन्द्र नहुँदा गर्भवती महिलालाई बच्चा जन्माउन कठिनाई हुने गरेको छ ।