दशैंका लागि काठमाडौंबाट छुटने बसको टिकट बुकिङ आइतबारदेखि खुल्ला भएको छ । आईतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ ।

सरकारले दशैंका घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । तर पहिलो दिन नै टिकट लिन लाईनमा बस्नेहरुको भिडले भने यात्रुहरु सरकारको भनाइप्रति आश्वस्त हुन सकेका छैनन् । तर सरकारले भने यात्रुलाई समस्या परेमा सवारीसाधनको तत्काल व्यवस्था गर्ने जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीहरुले भने सरकार र व्यवसायीबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले टिकट बुकिङमा सहज बनाउन टिकट काउन्टरको छेउमा नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । तरपनि विगतमा जस्तै टिकट नपाउने डरले पहिलो दिन नै भिड बढेको हो ।

विज्ञापन