बेनी नगरपलिका–२ बगरफाँटको कोटखोला दिदीको घरमा बस्न गएकी अनिता परियारले छोरी अनुस्कालाई सँगै लिएर गएकी थिईन् । बाहिर लगातारको मुसलधारे पानी परिरहेको थियो । आकाशमा छिटोछिटो बिजुलीको चम्कने र मेघ गर्जनको आवाजले छोराछोरी भने त्रसित थिए । कोटखोला सुस्त गतिमा थियो,घरमुनीको म्याग्दी खोलाको आवाज बढ्दै थियो। कोटखोला नजिकै रहेको टिनको छाप्रोमा पार्वती र अनिता अवेरसम्म गफ गदैं थिए ।

रात छिप्पिदै जाँदा कोटखोलामा गड्याङगुडुङको आवाज आउन थालेको केही मिनेटमै घरभित्रै बाढी पसेपछि भागाभाग भयो । माथिल्लो बस्तीबाट छिमेकीले बाढी आयो भाग भनेपछि केटाकेटी च्यापेर बुद्ध एकेडेमीको पछिल्लो भागतर्फ भाग्दै गरेको अवस्थामा १० बर्षिया प्रविना परियार र ६ वर्षीया अनुस्का सम्पर्कविहिन भए ।

टिनको छाप्रोभित्र सुतिरहेका काखेबच्चालाई च्यापेर भाग्ने क्रममा प्रविना र अनुस्कालाई ब्लव उद्योगको पछाडी जान भन्दाभन्दै बाढीले बेपत्ता बनाएको राममायाँ परियारले बताईन् । उनले दुवैले बाढीबाट भाग्न अन्तिम समयसम्म निकै प्रयास गरेपनि खोला उर्लिएर आएपछि सम्पर्कविहिन भएको बताईन् ।

‘दुईबहिनीका छोरी एउटै ठाउँतर्फ जाँदै थिए’ विद्यालयको सबैकक्षाकोठाबाट पानी बगेपछि जोगाउनै मुस्किल भएको उनले बताईन् । ‘विद्यालयको पछाडी सुरक्षित हुन्छ भनेर पठायौं, त्यहीबाट बगायो’ उनले भनिन्। उनीहरुलाई समेत बाढीले बगाएको अवस्थामा मृत्युको मुखबाट फर्किएका थिए । खेतको डिलबाट खसाल्न खोज्दा नजिकै रहेको रुखलाई समातेर ज्यान जोगाएका थिए । बस्ती नजिकै रहेको सरस्वती आधारभुत विद्यालयमा अस्थायी बसोबास गरिरहेका बेपत्ता बालिकाका आफन्तले आइतबार रातीसम्म म्याग्दी खोला आसपासमा खोजी गरेका थिए ।

विद्यालयमै रुवाबासी चलेको छ । बेपत्ता प्रविणा बेनी सामुदायिक माविका कक्षा ४ मा भने अनुस्का बालविकासमा अध्ययरत थिईन् । पढाईमा मध्यम भएपनि उनीहरुले नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । ‘घटनाले स्तब्ध भएका छौ,‘परिवारलाई भेटेर फर्कियौं, आज फेरी जान्छौ’ उनले भने । बाढीले स्थानीय दिलप्रसाद जुग्जाली, पार्वती र राममाया परियारको घर बगाएको छ । रेशम परियार, सेते किसान, विष्णु दर्जीको घर आंशिक क्षती भएको छ भने इन्द्र कटुवालको घर उच्च जोखिममा छ । बाढीबाट बगरफाँटका ३६ जना प्रभावित भएका छन्। कोटखोलाले बुद्ध एकेडेमी सहित घरधुरी, खेतीयोग्य जमिन सहित करोडौंको नोक्सानी भएको छ ।