शनिवार राती म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकाको अवस्था दुई दिन वितिसक्दा सोमवार बेलुकीसम्म पनि थाहा हुन सकेको छैन । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ८ बर्षकी अनुश्का परियार बेपत्ता भएका थिए ।

उनीहरुको खोजी कार्यका लागि आइतवार दिनभर प्रहरीले गरेको प्रयास असफल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका हुन् । बेनी नगरपालिका ९ बस्ने पार्वती परियारकी १० बर्षकी छोरी प्रविना परियार र बेनी नगरपालिका ५ खोरगैरा बस्ने अनिता परियारका छोरी अनुश्का परियार बेपत्ता भएका हुन् ।

खोलाले धार परिबर्तन गरि बस्तीतिर आएको बाढीले बगरफाटमा स्थायी रुपमा बस्ने दिपक जुग्जाली, पार्वती परियार, राममाया परियारको ३ घरमा पुर्ण क्षति गरेको छ । भने ३ घरमा आशिक क्षेती गरेको छ । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।