बेनी नगरपालिका–२, बगरफाँटमा बाढीबाट पीडित बनेकाहरुलाई दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको छ । सहकारीले सोमबार बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितहरुलाई राहतस्वरुप खाद्यान्नसहित दैनिक उपभोग्य सामानहरु उपलब्ध गराएको हो । सहकारीले बाढीपीडितहरु सेते किसान, विष्णु परियार, रेशम परियार, रमेश परियार, दीपक जुग्जाली, पार्वती परियार र माया परियारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

सहकारी संस्थाले बाढीपीडितलाई प्रति परिवार एकएक बोरा चामल, ५÷५ केजीका दरले दाल तथा चिनी, एकएक प्याकेट खानेतेल, ३÷३ केजी नुन, एकएक दर्जनका दरले लुगा धुने तथा भाँडा माझ्ने साबुन, एकएक प्याक चाउचाउ र २÷२ थान म्याट्रेस दिएको छ । उक्त सामाग्रीहरु सहकारीका अध्यक्ष ज्योती लामिछाने, उपाध्यक्ष विष्णु गौतम, कोषाध्यक्ष जगतदेवी बानियाँ, सहसचिव अम्बिका श्रेष्ठ, प्रवन्धक शारदा शर्मासहित सञ्चालक समिति सदस्य र कर्मचारीले बाढी पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बेनी नगरपालिका–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापासहित वडा सदस्य तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।बाढी पीडितहरुलाई खाद्यान्नलगायत सामानहरु हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष ज्योती लामिछानेले सहकारीमार्फत सञ्चालित मुठ्ठीदान अभियानबाट सहयोग गरिएको बताएकी छिन् । उनले बाढीबाट पीडित बनेका व्यक्तिहरुको घाउमा थोरै भए पनि मल्हम लगाउन संस्थाबाट सहयोग गरिएको बताइन् । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष विष्णु गौतमले गरेकी थिइन् ।

शनिबार राती ९ बजेदेखि परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगरफाँटका ३ घर पुरेको छ भने ४ घरमा क्षति पु¥याएको छ । परम्परागत धार परिवर्तन गरेर आएको खोलाको बाढीले तीनवटा घर पुरिँदा भाग्ने क्रममा हराएका दुई बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । बाढीले बुद्ध एकेडेमीको १५ ओटा कक्षाकोठा र खेलमैदानमा पूर्णरुपमा क्षति पु¥याएको छ ।

विज्ञापन