एउटै कक्षामा पढ्ने दुई छोरी रविना र प्रविणासँगै विद्यालयका कार्यक्रममा हात समातेर जाने पार्वती परियार सोमबार भाबुक हुदै बेनी सामुदायिक माध्यामिक विद्यालयमा प्रवेश गरिन् । अभिभावक भेला, दुई छोरीको परिक्षाको नतिजाका साथै विद्यालयको आवश्यकता अनुसार उज्यालो अनुहार बनाएर विद्यालयको प्रवेशद्धारबाट प्रवेश गर्ने गरेकी परियार सोमबार आँखामा पिलपिल आँसु खसाल्दै विद्यालयमा प्रवेश गरेपछि शिक्षक, विद्यार्थी समेत भावुक भएका थिए ।

बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा कक्षा ४ मा अध्ययरत १० वर्षीया प्रविनालाई बाढीले बेपत्ता बनाएपछि शोकमा डुवेकी पार्वतीलाई विद्यार्थीले खाजा खर्च कटाएर ७ हजार ३५ रुपैयाँ र शिक्षकले १५ हजार सहयोग हस्तान्तरण गरेका थिए ।

घर बाढीले बगाएपछि नजिकै रहेको सरस्वती आधारभुत विद्यालयमा परिवारसँगै बसेकी परियारलाई सहयोग हस्तान्तरण गर्ने क्रममा विद्यालय प्राङ्गन भाबुक भएको थियो । विद्यालयको कार्यक्रममै उपस्थिती हुने परियारको चाहना अनुसार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले सहयोग हस्तान्तरण गरेका थिए । ‘विद्यार्थी गुमाएका छौ,‘पीडालाई शक्तीमा बदल्ने प्रयास पनि हो’ श्रेष्ठले भने ।

उनले विद्यार्थीले अभिभावकले खाजा खर्चका लागि दिएको रकम जम्मा गरेर बेपत्ता प्रविणाको परिवारलाई हस्तान्तरण गर्ने योजना अनुसार कार्यक्रम गरिएको थियो । बगरफाँट नै कार्यक्रम गर्ने योजना बनाइएको भएपनि पार्वतीलाई विद्यार्थीको आँखामा छोरीको छाँया देखिने भन्दै विद्यालयमा आएकी थिईन् ।‘मैले एउटी छोरी गुमाए, अर्की छोरी यही छन्’ उनको भनाई उद्धित गदै विद्यालयका शिक्षक सचिन शाक्यले भने । उनले विद्यालयको टोलीले घटनास्थलमै समेत पुगेको बताए ।

बाढीमा बेपत्ता अर्की सुनियर केजीमा अध्ययरत ६ वर्षीया अनुस्का परियारको आमा घरमा गएकाले आउन नपाएको बताए। सहयोगलाई धन्यवाद दिदै पार्वतीले विद्यालयको मायाँलाई जीवनमै नभुल्ने बताईन् । शनिबार राती अविरल बर्षासँगै आएको बाढीले खोला नजिक रहेको बुद्ध एकेडेमी विद्यालयसहित ८ घरधुरीलाई क्षती पुगेको थियो । बाढीका बगरफाँटका ३६ जना प्रभावित भएका छन् ।

विज्ञापन