म्याग्दीमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । बेनी अस्पतालमा ६७ जना शंकास्पद बिरामीको रगत परीक्षण गर्दा सात जनामा डेंगुको संक्रमण भएको पाइएको हो । बेनी अस्पतालकै एक्सरे यूनिटका एक कर्मचारी, बेनी नगरपालिका–५ पूलाचौर र रघुगंगगा गाउँपालिका–४ दग्नामका ३८ बर्षिय पुरुषलाई ल्याव परिक्षणको रिर्पोटमा डेंगु संक्रमण भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए ।

‘जिल्ला बाहिर यात्रा नगरेका चारजना विरामीमा डेंगु भेटिएको छ,‘अझै केही बिरामी निगरानीमा छन्’ डा. घिमिरेले भने। उनका अनुसार यसअगाडी पनि बेनपा–५ पूलाचौरबाट एकजना महिलालाई डेंगु देखिएको थियो । ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगु हुने सम्भावना रहने डा. घिमिरेले बताए ।

अस्पतालमा डेंगु परीक्षण गर्ने किट समेत प्रयाप्त नहुदाँ जोखिम अवस्थाका बिरामीलाई मात्रै ल्याव परिक्षण गर्ने गरिन्छ । डेंगुको संक्रमण देखिएका ७ जना बिरामीमध्ये ४ जना बिरामी जिल्ला बाहिर गएको यात्राको विवरण नदेखिएकाले पनि जिल्लाको ग्रामिण क्षेत्रमै एडिज एजिप्टी जातको पोथी लामखुट्टे सक्रिय रहेको चिकित्सकको भनाई छ ।संक्रमिणत मध्ये एकजनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।

डेंगुको भाइरस शरीरमा संक्रमण फैलिएमा उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३,४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण देखिने भएकाले भएपनि सदरमुकाम बेनीजस्तै जिल्लाको ग्रामिण क्षेत्रमा समेत डेंगुका बिरामी भेटिएपछि जनचेतनामुलक कार्यक्रम सहित प्रभावकारी योजना बनाउन सरोकारवाला निकाय असफल भएका छन् ।

सदरमुकाम बेनीमा केही औपचारिक कार्यक्रम गरेपनि जिल्लाका स्थानीय तहमा कार्यक्रमहरु सञ्चालन गरिएको छैन् । लाखमुट्टेले सहरबजारमा रहेका सवारीसाधनका ग्यारेजका टायर, घरको गमला लगाएतको सफा पानीमा लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्ने भएपनि विषाधीको प्रयोगका बारेमा सर्वसाधारण अनविज्ञ छन्।