एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका-५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले घरैमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ। कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असारमा एक हजार रकम लिँदै गरेको सिसी क्यामराको दृश्यका आधारमा अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाएको थियो। उनलाई हाजिर हुन पुगेकै बेला गत साउन २२ गते पक्राउ गरी थुनामा राखिएको थियो ।

२१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ लिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् । गत माघ महिनामा बुबाको निधन भएको सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकै वर्षमा दुईवटा शोक परेको आफन्तले बताएका छन् । उनका आफन्तले सुवेदीकी श्रीमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा शोकमा परेको बताए । सुवेदीको मंगलबारे दाहसंस्कार गरिएको परिवारले बताएका छन् ।

विज्ञापन