बेनी नगरपालिका वडा नं २ बगरफाँटमा जथाभावि खनिएको सडकका कारण स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् ।विना इष्टिमेट गाउँका केही टाँठाबाठा र वडा सदस्यको मिलोमतोमा मनपरी रुपमा खनिएको सडकका कारण सडक खनिएको ठाउँमा पहिरो नै पहिरोको जोखिम छ भने घरहरु पनि भत्किने अवस्थामा पुगेका छन् । बेनी नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा ३ लाख रुपैयाँको बजेटबाट खनिएको बगरफाँट÷जलकिनी सडकको ५ सय मिटर क्षेत्रमा जोखिमै जोखिम छ ।

गत असारमा निर्माण भएको सडकमा अहिलेसम्म एउटा पनि सवारी साधन गुडेको छैन भने सडकका कारण एउटा घर भत्किने अवस्थामा पुगेको छ भने ठाँउठाउँमा परिहो गएर खोतीयोग्य जमिन पुरेको छ ।सडकमा खोला बगेको छ । जमिन धाँजा धाँजा भएर फाटेको छ । पहिरोले घर भत्किने अवस्थामा पुगिसक्दा पनि संरक्षणको पहल भएको छैन । पहिरोले धु्रब शर्माको घर भत्किने अवस्थामा पुगेको हो ।

केबल बजेट सक्नका लागि विना प्रयोजन खनिएको सडकका कारण पाँच परिवारले सास्ती भोग्नु परेको स्थानीय टीकाबहादुर कार्कीले बताए । ५ सय मिटर सडकको कुनै पनि भाग सुरक्षित नभएको स्थानीयले बताएका छन् ।सडकका कारण घर भत्किने अवस्थामा पुगिसक्दा पनि संरक्षणको पहल भएको छैन भने सडक निर्माण गरेर बचेको रकम ७२ हजार रुपैयाँ वैंकमा नराखेर व्यक्तिले राखेका छन् ।

समितिका अध्यक्ष खड्कबहादुर थापाले सडकको वारेमा आफूलाई केही थाहा नभएको र आफू नाम मात्रको अध्यक्ष भएको बताए । ‘म नाम मात्रको अध्यक्ष हुँ, आर्थिक कारोबार सबै वडासदस्य चन्द्रबहादुर कुवँरले गर्नुभएको हो, अध्यक्ष थापाले भने । वडासदस्य कुवँरले सडकबाट बँचेको ७० हजार रुपैयाँ आफ्नो जिम्मामा रहेको वताए ।सडक निर्माण गर्दा सम्भावित क्षतिवाट जोगाउन संरक्षण गरिनु पर्नेमा बजेट हुँदाहुँदै पनि सोही सडकका कारण क्षतिग्रस्त हुन थालेका जग्गा र घरको संरक्षणमा चासो नदिइनु सम्वन्धित पक्षको गैर जिम्मेवारपना भएको स्थानीयले बताएका छन् ।