लायन्स क्लव बेनी म्याग्दीले बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार सञ्चालन गरेको आँखा शिविरमा ३ सय ४१ जना सर्वसाधारण लाभान्वित भएका छन् । नेत्रज्योती संघ म्याग्दी र रत्नेचौर जागरण यूवा क्लवसँग सहकार्य गरी सञ्चालन गरिएको शिविरको उद्घाटन गदैं प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले लान्यस क्लवमार्फत जिल्लामा भइरहेका सामाजिक तथा मानवीय कार्यको प्रशंसा गरेका थिए ।

उनले शिक्षा, स्वास्थ्य र सामाजिक अभियानमा लायन्समार्फत भइरहेका गतिविधिहरूमा आगामी दिनमा समेत साथ हुने बताए ।सोही अवसरमा वडा अध्यक्ष टेकबहादुर रावल, लान्यस सरोज बानियाँ, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,लायन्स क्लव बेनी म्याग्दीका अध्यक्ष चन्द्र बहादुर बराईली, नेत्रज्योती संघका अध्यक्ष अमर बानियाँ लगाएतको उपस्थिति रहेको थियो ।

शिविरमा २०१ महिला र १४० पुरुषले चेकजाँच गरेकोमा ४ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भेटिएको लायन्स क्लव बेनी म्याग्दीका प्रथम उपाध्यक्ष एवम् शिविरका संयोजक सुमन श्रेष्ठले बताए । उनका अनुसार शिविरमा बृद्धबृद्धाहरुको उत्साहजनक सहभागिता रहेको थियो । शिविरको अध्यक्षता रत्नेचौर जागरण यूवा क्लवका अध्यक्ष गणेश रावल, सञ्चालन लान्यस क्लव बेनी म्याग्दीका सचिव गणेश श्रेष्ठले गरेका थिए । म्याग्दीमा लायन्स क्लवले आँखा शिविर सञ्चालन गर्ने गरेको छ ।

विज्ञापन