म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्री खोलामा फसेका तीनजनाको उद्धार गरिएको छ । बुधबार साँझ खदोभिल्लामा अरिङ्गालको पोल्न काठको फलेकको सहायताले जाने क्रममा चिप्लिएर खोलामा खसेका चारजनामध्ये तीनजना ढुंगामा अड्किएका थिए भने छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको सालिजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका छन् ।

राती करिव ९ बजे उद्धार गरिएको स्थानीय तारा गर्बुजाले बेनीअनलाइनलाई बताए।४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाको हाई हिमालयमा कार्यरत तीनजना मजदुर र एकजना स्थानीय यूवा मिम बहादुर चोचाङ्खीले अरिङ्गलको पोला देखेपछि जाने क्रममा लडेर खोलामा खसेका थिए ।

उत्तरी म्याग्दीको माथिल्लो क्षेत्रमा भइरहेको बर्षाका कारण मिस्त्रीखोलाको सतह ह्वात्तै बढेको अवस्थामा फसेपछि नेपाली सेनाको टोलीको सहयोगमा उद्धार गरिएको थियो । खोलाको दुवैतर्फबाट डोरीको सहायतामा उद्धार गरिएको थियो । यसैबीच बेपत्ता गर्बुजाको खोजीमा आफन्त समेत पुगेका छन् । जलविद्युत आयोजनामै रहेका आफन्तमार्फत घरमा समेत जानकारी पुगेको जनाइएको छ ।

विज्ञापन