दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।

पछिल्लो समय त हिमाली जिल्लाका ती च्यांग्रा राजधानी काठमाडौंमा समेत पु-याउन थालिएको छ। खाद्य संस्थानले मुस्ताङका किसानसँग किनेको च्यांग्रा सिधै काठमाडौं लगेर उपभोक्तालाई बिक्री गर्दै आएको छ। यसपटक खाद्य संस्थानले राजधानीबासीको स्वादको चाहनालाई ध्यान दिएर आगामी सोमबार काठमाडौंमा पहिलो ‘लट’ च्यांग्रा ओराल्दै छ।

व्यवसायीका अनुसार दसैंमा मात्र पोखरा क्षेत्रमा करिब ३० हजार गोटा च्यांग्रा बिक्री हुन्छन्। पोखरामा बिक्रीका लागि झारिने च्यांग्रा किन्न व्यापारी यतिबेला हिमाली जिल्ला मुस्ताङ उक्लिसकेका छन्। यसपटक झन्डै ३० हजार च्यांग्रा पोखरा आउने अनुमान छ।

यतिबेला पर्यटकीय सिजन सुरु हुने र पोखरासहित आसपासका क्षेत्रमा आन्तरिक पाहुना पनि पर्याप्त संख्यामा घुम्न आउने भएकाले मासुको खपत पनि अधिक हुने उनले बताए। पोखरा आएका ती आन्तरिक पाहुनाले पनि कम्तीमा पाएसम्म च्यांग्राको स्वाद चाख्न खोज्ने हुँदा च्यांग्राको खपत बढी हुने गरेको ओझाले बताए। ‘पोखराबाहेक अन्यत्र च्यांग्राको मासु हत्तपत्ति पाइँदैन। त्यही भएर घुम्न आएका उपभोक्ताले पनि च्यांग्राकै मासुको स्वाद खोज्छन्। यहाँका हरेक होटल र रेस्टुरेन्टमा च्यांग्राको मासु खपत हुन्छ,’ उनले भने।

 मुस्ताङबाट झन्डै साढे तीन करोड रुपैयाँ खर्चेर खाद्यले च्यांग्रा राजधानी पु-याउँदै छ। मुस्ताङका विभिन्न गाउँमा च्यांग्रा किनेर खाद्यले राजधानी लगेर बेच्ने तयारी गरेको छ। खाद्य संस्थान मुस्ताङका विनोद चन्दका अनुसार पाँच सय गोटा हाराहारीमा चार चरणमा च्यांग्रा राजधानी पुग्नेछन्।

पोहोर खाद्यले पाँच सय ३० रुपैयाँ प्रतिकिलोका हिसाबले किसानसँग जिउँदो च्यांग्रा खरिद गरेको थियो। यसपटक मूल्य बढाएर प्रतिकिलो पाँच सय ६० रुपैयाँ पु-याएको छ। २५ देखि ४० किलो तौलसम्मका च्यांग्रा खाद्यले खरिद गर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्लास्तरको खरिद समितिले च्यांग्राको स्थानीयस्तरमा मूल्य निर्धारण गर्छ। यो समितिमा खाद्य र पशुका पदाधिकारी पनि हुन्छन्।

खाद्यले किसानले ल्याएका च्यांग्रा सिधै नगदमा किन्छ। जोमसोममा संकलित च्यांग्रा बेनीसम्म हिँडाएर ल्याउँदा त्यसको लागत पनि थपिन्छ। बेनीसम्म हिँडाएर ल्याउँदा प्रतिगोटा दुई सय २५ रुपैयाँका दरले लागत तोकिएको छ। त्यसपछि ट्रकमा काठमाडौं पु-याउँदा अतिरिक्त प्रतिगोटा झन्डै आठ सय रुपैयाँ भाडा लाग्छ। सबै खर्च जोडेर न्यूनतम मुनाफा राखेर प्रतिकिलोका दरले संस्थानले राजधानीमा मूल्य निर्धारण गर्छ।

व्यवसायीले जथाभावी मूल्य तोकेर दसैंमा उपभोक्तालाई महँगोमा च्यांग्रा बेच्न सक्ने भएकाले त्यो नियन्त्रणका लागि पनि खाद्यले पछिल्लो केही वर्षदेखि च्यांग्रा बेच्न थालेको हो। मुस्ताङस्थित पशुसेवा कार्यालयले च्यांग्रामा कुनै रोग भए/नभएको परीक्षण गरेर मात्र खाद्यका लागि खरिद गरिन्छ। च्यांग्रा किन्न खाद्यका कर्मचारी केही दिनअघि नै मुस्ताङका माथिल्लो क्षेत्रमा किसानको सम्पर्कमा पुग्छन्। वारागुँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन्। तिनै च्यांग्रा किसानसँग किनेर अरू व्यवसायीले पोखरामा बेच्नका लागि झार्छन्। खाद्यले राजधानी लैजानेबाहेक अरू व्यवसायीले पनि हजारौं च्यांग्रा किनेर बेच्न पोखरा ल्याइपु-याउँछन्। पोखरामा दसैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ। nagariknews.com