म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुगा सडक आगामी शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माणका क्रममा समयतालिका अनुसार बन्द हुने गरेको अवस्थामा चाडपर्वलाई लक्षित गरी शनिबारदेखि नियमित सञ्चालन हुने पर्वतका प्रहरी नायव उपरिक्षक श्याम अर्यालले बताए । ‘शुक्रबारसम्म दैनिक तीन घण्टा बन्द हुन्छ,‘शनिबारदेखि अर्को सुचना नभएसम्म सडक बन्द हुने छैन्’ अर्यालले भने ।

उनका अनुसार बर्षाका कारण पहिरोले पुलको जग भनिएको स्थान पुरिएका कारण फेरी माटो फाल्नु परेकाले तीनदिनसम्मको समय माग अनुसार सवारी रोक्ने तालिका बनाइएको बताए । दशैंको चहलपहल सुरु भएको अवस्थामा सडकखण्डबाट म्याग्दी हुनै मुस्ताङ आवतजावत गर्ने पर्यटकलाई सास्ती भएको थियो ।  कालीगण्डकी नदीमाथि निर्माण हुने पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने हुँदा सम्भावित दुर्घटनाप्रति सजगताका लागि बेनी–पर्वत खण्डको सडक बन्द गर्ने निर्णय गरिएको थियो ।

कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म तालिका अनुसार बन्द हुन थालेपछि म्याग्दीको सदरमुकाम बेनी हुदै हाँडेभिर–रत्नेचौर–बागलुङ सडक प्रयोग गरी पर्वतको जलजला गाउँपालिका, म्याग्दी र मुस्ताङबाट आवतजावत गर्ने गरेका थिए । हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ।

विज्ञापन