पूर्ण जानकारी नलिएर गर्भपतन गराउँदा महिलाले तत्काल र दीर्घकालमा विभिन्न समस्या भोग्नुपर्ने म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । लुकिछिपी मेलिकलबाट औषधी किनेर खाने, दर्ता नभएका, गुणस्तर नजाँचिएका औषधीको प्रयोग सहरदेखि ग्रामिण क्षेत्रसम्म रहेकाले सुरक्षित गर्भपति असुरक्षित बन्दै गएको बताइएको थियो ।

सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दिगो विकास लक्ष्य सप्ताह एवम् पाँचौ सुरक्षित गर्भपतन सप्ताहको अवसरमा अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले महिलाको समस्या र आवश्यकतालाई लक्षित गरी सहकारीले सञ्चालन गरेको कार्यक्रमको प्रभाव दिर्घकालिन हुने बताए ।

‘दिगो विकासको लक्ष्यलाई सफल बनाउन आर्थिक रुपमै आत्मनिर्भर पनि हुनुपर्छ,‘अधिकारको प्रयोग गर्दा स्वास्थ्यप्रति सचेत हुनुपर्छ’ कार्कीले भने । अभिमुखीकरण कार्यक्रमको सहजिकरण गदैं आइपास नेपालकी गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले गर्भपतनलाई फेसनको रुपमा प्रयोग गर्दा महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउँदै गर्भ रोक्नका लागि परिवार नियोजनका विभिन्न साधनको प्रयोग गर्नुपर्ने र अन्तिम विकल्पको रुपमा गर्भपतनलाई अपनाउनुपर्ने बताईन् ।

उनले सुरक्षित गर्भपतन महिलाको अधिकार भएकाले महिलाको मञ्जुरीमा दक्ष स्वास्थ्यकर्मीबाट नौ सातासम्मको गर्भलाई औषधि प्रयोग गरी सुरक्षित गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था भएपनि परिचय भंग हुने त्रासले ज्यानकै जोखिम मोलेर गर्भपतन सेवा लिदाँ रक्तश्राव हुने, पाठेघरमा संक्रमण हुने, महिनाबारीमा गडबडी हुनेजस्ता समस्या देखिने गरेको बताईन् ।

आइपास नेपालले म्याग्दी जिल्लामा समेत सुरक्षित गर्भपतन सम्बन्धि धेरै काम गरेको अवस्थामा सेवाग्राही र स्वास्थ्यकर्मी बीचको सम्बन्धलाई समेत बलियो बनाउँदै असुरक्षित गर्भपतनमुक्त समाज निर्माणमा भूमिकमा खेलेको संयोजक कुँवरको भनाई छ ।

सोही अवसरमा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरे, बेनी नगरपालिका स्वास्थ्य संयोजक लिला गौतम, स्वास्थ्यकर्मी लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष ज्योती लामिछानेले सुचिकृत असुरक्षित गर्भपतनका कारण धेरै महिलाको स्वास्थमा समस्या परेको बताईन् । उनले नेपालको तथ्याङ्क अनुसार प्रतिघण्टा २१ वटा असुरक्षित गर्भपतन हुने गरेको बताईन् । कार्यक्रमको स्वागत गैरसरकारी संस्था म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल र सहकारीकी उपाध्यक्ष विष्णु गौतम सापकोटाले गरेकी थिईन् ।

विज्ञापन