म्याग्दी जिल्लाको चौतर्फी विकासका लागि स्थापना भएको म्याग्दी विकास मञ्चको तथा म्याग्दी डेभलपमेन्ट फोरमको दोस्रो वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले राज्यको लगानीले मात्रै प्रयाप्त नभएकाले नीजि क्षेत्र र प्रवासीको साझेदारीमा विकासका परियोजनालाई सञ्चालन गर्नुपर्ने बताए । उनले प्रवासीको लगानी दिर्घकालिन योजनामा केन्द्रित गर्न समेत सुझाव दिएका थिए ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीले म्याग्दीमा पर्यटन, जलविद्युत र कृषिमा लगानीको सम्भावना भएको बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीयतसँग लगानीमा सहकार्यसँगै समुदायमा समेत प्रभावकारी रुपमा योजनाहरु अगाडी बढाउन सहज हुने बताए । उनले लगानीको वातावरण भएपनि लगानी भित्राउन समस्या भएको अवस्थामा सहकार्यका लागि सक्रिय हुन समेत अनुरोध गरेका थिए ।

साधारणसभाको अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले विकास मञ्चको लक्ष्य अनुसार अगाडी बढ्न सकेमा जिल्लाको विकासमा कोशेढुंगा सावित हुने बताए । म्याग्दी बिकास मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षता, स्वागत उपाध्यक्ष प्रमोद श्रेष्ठ, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन संस्थाका प्रमुख प्रशासकीय अधिकृत मुक्ती ढुंगाना र सचिव लोकेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।