बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा चाडपर्वमा आवतजावत गर्ने यात्रुहरुको सजिलोका लागि सहायता कक्ष स्थापना गरिएको छ । यात्रु ठगिने, लुटपाट हुने र लुटपाट र चोरी हुने जस्ता क्रियाकलाप बढ्न सक्ने सम्भावनलाई मध्यनजर जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा कालिपुल बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

देशका विभिन्न जिल्लाबाट सदरमुकाम बेनी हुदै मुस्ताङ लगाएतका स्थानमा जाने सवारीसाधनले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरू हुने भएकाले त्यसको न्यूनीकरण गर्नका स्थापना गरिएको कक्षको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गरेका थिए । ‘नियमविपरित काम गर्नेलाई तत्काल कारवाही गर्नुहोस्,‘चाडपर्वमा अपराधिक मानसिकता भएका पनि सक्रिय हुन्छन्’ प्रजिअ ढकालले भने ।

सोही अवसरमा बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवम् प्रबक्ता रामकृष्ण बराईली, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष लालबहादुर थापा लगाएतले चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ।  क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटनाको जोखिम हुने भएकाले सहायता कक्षमा रहेका प्रहरीले आवश्यकता अनुसार सवारीसाधन भित्रै प्रवेश गरेर समेत चेकजाँच गर्न सक्ने बताइएको छ ।

यसैबीच आइतबारदेखि समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रजिअ ढकालको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा चालक, यात्रु, यातायात ब्यवसायी, स्थानीयबासीलाई समेत अभियानका बारेमा जानकारी गराइएको थियो ।

विज्ञापन