म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा आयोजित दुईदिने निशुल्क दन्त शिविरमा ६ सयभन्दा बढी लाभान्वित भएका छन् । मंगला गाउँपालिका–१ तुसारेपानी स्थायी भै हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका समिट र सृष्टि रोकाले आफ्नो जन्मदिनको उपहार तथा चाडपर्वमा दक्षिणाबापतका संकलन गरेको आर्थिकले शनिबार र आईतबार आयोजित शिविरमा छिमेकी जिल्ला बागलुङको तमानखोला, बेनी नगरपालिका, मंगला, मालिका र धौलागिरी गाउँपालिकाबाट आएका ६ सय ८ जनाले सेवा लिएका थिए ।

ग्रामिण भेगका जनतामा आफुहरुले दन्त रोगबाट कसैले पनि समस्या भोग्नु नपारोस् भनि छोराछोरीले संकलन गरेको आर्थिकसँगै आफ्नो ब्यक्तिगत खर्चमा मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति र उनकी धर्मपत्नी टिका रोकाले शिविर सञ्चालन गरेका थिए । शिविरमा डा. राजेन्द्र राना मगर, डा. शुर्या थापा लगाएतको टोलीले दाँत सफा गर्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने लगायत दाँतसम्वन्धि विभिन्न समस्याको उपचार सेवा सहित औषधि वितरण गरिएको थियो । शिविरमा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुषले सेवा लिएका थिए ।

लामो समयपछि दरबाङमा आयोजित शिविरमा दाँत सफा राख्न तथा परामर्श सेवा समेत प्रदान गरिएको थियो । गाउँका बच्चा देखी बृद्धबृद्धाहरुलाई दन्त सम्बन्धी समस्या रहेपनि परिक्षणबारे उचित ज्ञान नभएको र सेवा लिन धाउनुपर्ने बाध्यतात्मक परिस्थितिलाई बुझ्दै शिविर सञ्चालन गरिएको मुक्ति रोकाले बताए । सोही अवसरमा प्राथमिक उपचार केन्द्रलाई समेत १ लाख सहयोग गरिएको थियो । यसैबीच मालिका गाउँपालिकाले शिविरमार्फत दन्त उपचारमा सघाएको भन्दै रोका परिवारलाई धन्यवाद दिएको छ ।