सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको बार्षिक साधारण सभा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर स्थित सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै महिला बालबािलका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले छरीएर रहेको पुँजीलाई एकिकृत गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्नतर्फ सहकारीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आत्मनिर्भर र रोजगारि सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न सहकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीको आदर्श र सिद्धान्तलाई आत्मसाथ गरि आर्थिक कारोवार र लगानी गर्न आग्रह गर्नुभयो । उहाँले कतिपय सहकारीहरु आफ्नो मुल मर्मबाट बाहिर जाँदा त्यसले समस्या निम्त्याउने गरेको बताउँदै उत्पादनशिल क्षेत्रमा लगानी र रोजगारि सिर्जना सहकारीहरुको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष बिमल बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अगुवा खड्क गिरी , सल्लाहकार बुद्धिबहादुर पुन, निवर्तमान अध्यक्ष लाल बहादुर भण्डारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष मेखबहादुर खड्काले आर्थिक, सचिब रामकृष्ण खड्काले प्रगति र लेखा समिति संयोजक यामबहादुर खड्काले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नजिता ल्याउने शेयर सदस्यका छोराछोरीहरु मध्ये कविता बरुवाल, शिक्षक सेवा आयोगबाट स्थायी हुन सफल शेयर सदस्यहरु मेखबहादुर खड्का, युवराज बरुवाल, दुर्गाबहादुर खड्का, मिरा बरुवाल, सरिता बरुवाल, भक्तबहादुर बरुवाललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रजिअ ज्ञाननाथ ढकाल, प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी र प्राध्यापक डाक्टर होमबहादुर बरुवाल लगायतको बिशेष उपस्थिति रहेको थियो भने सचिब रामकृष्ण खड्काको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो ।