महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई सरकारले पुर्नवासको व्यवस्था गर्ने बताउनुभएको छ । बुधवार बेलुका संघीय सरकारको तर्फबाट रु २ लाख बाढी पीडितहरुलाई प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक विपत्तीबाट पीडित भएकाहरुलाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताउनुभयो ।

मन्त्री थापाले बाढीका कारण घरवार विहीन भएका ७ घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुर्नवासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभयो । बाढीका कारण विस्थापित भएका ७ घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वति आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरी ज्वाइँकोमा बसेका छन् ।

असोज ४ गते राती कोटखोलामा आएको बाढीले बगाउँदा दुईजना बालिकाको मृत्यु भएको छ । एकजना बालिकाको शव प्राप्त भएको र एक बालिकाको अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिरावहादुर थापाले जानकारी दिनुभएको छ । बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ ।