म्याग्दीको मालिका गाउँपालिका–२ रुम खवाङका बिचल्लीमा परेका तीन बालबालिकाको सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले अभिभावकत्व ग्रहण गरेको छ । गत भदौ महिनाको १९ गते राती मदिरा सेवन गरेका तीनजना यूवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिटबाट मोतिप्रसाद दर्जीको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकालाई एक कार्यक्रम गरी कम्पनीका म्याग्दी शाखा प्रमुख भरत रकालले ५० हजार आर्थिक सहयोग हस्तान्तरण गदैं एक छोरा र दुई छोरीको कक्षा १० सम्मको सम्पूर्ण शैक्षिक जिम्मेबारी लिएको बताए ।

शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रमको अवसरमा गाउँमै आयोजित कार्यक्रममा बालबालिकाको अवस्थाका बारेमा सञ्चारमाध्यमबाट जानकारी पाएलगत्तै कम्पनीले अभिभावकत्व ग्रहणको घोषणा गरेको बताइएको थियो । बालबालिकालाई पोशाक, स्टेशनरी तथा अन्य आवश्यक साम्रागीका लागि कम्पनीले जिम्मा लिने घोषणाले पठनपाठन सहज भएको सन्तजकुमारी दर्जीले बताईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा मालिका गाउँपालिका–५ देविस्थानका वडा अध्यक्ष पीपला बुढाले ब्यक्तिगत रुपमा २५ सय सहयोग गरेकी थिईन् ।कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र ‘ख’ का उपसभापति मेख बहादुर पुन, मालिका गापा–१ का वडा अध्यक्ष टंक पुन लगाएतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा केवी एकेडेमी दरबाङका अध्यक्ष हिरा पुनले एकजनालाई कक्षा १० सम्म निशुल्क शिक्षा दिने घोषणा समेत गरेका थिए । भत्किन लागेको घर, बिहान–बेलुकी दुई छाक हातमुख जोड्न धौ–धौ पर्ने परिवारलाई गाउँमा आरा मेसिन चलाएर गुजरा चलाइरहेका मोतिप्रसादको स्थानीय यूवा नेत्र पुन, ओमकार बुढाथोकी र नविन बुढाथोकीको कुटपिटबाट ज्यान गएको थियो ।

दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलीरहेको बारेमा बेनीअनलाइनले पहिलोपटक समाचार प्रकाशित गरेको थियो । ज्यालामजदुरी गरी ठूलो परिवार धान्दै आएका श्रीमानको मृत्यसँगै पाँच छोराछोरीको लालनपालनको एक्लो अभिभाराले पिरोलेको अवस्थामा सहयोग प्राप्त गरेपछि सन्तकुमारीले सहज भएको बताइएकी छन् । यसैबीच थप आर्थिक सहयोगका लागि समेत अपिल गरिएको छ ।