म्यादीको सदरमुकाम बेनीमा इन्टरनेटको चौथो पुस्ता अर्थात फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि बेनी नगरपालिका–८ क्याम्पसचोकबाट सेवा सुरू गरिएको नेपाल टेलिकमले जनाएको छ। फोरजी सेवा विस्तारसँगै उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । क्याम्पसचोक, कालिपुल, न्यूरोड, पर्वतबेनी आसपासका क्षेत्रमा फोरजी सेवा विस्तारसँगै निशुल्क २ सय एमबी डाटा समेत उपलब्ध रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए ।

‘साविकको मूल्यमा दोब्बर डाटा पाउने छन्,‘दशैंअगाडी बेनीबजारभित्र सेवा विस्तार हुन्छ’ शाहले भने । उनका अनुसार फोरजी सेवामा ग्राहकले जम्मा २५ रुपैयाँमा ४ सय एमबी डाटा पाउनुका साथै प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिने बताए । उनले अफरमा समेत फोरजी प्रयोगकर्तालाई प्राथमिकता रहेको बताए ।

आधादर्जन भन्दा धेरै अफर भएकाले पनि सेवाग्राहीलाई सस्तो शुल्कमा रोजेर सेवा लिने गरी टेलिकमले विस्तारलाई तिब्रता दिएको जनाइको छ । ‘फोरजीले दु्रतगतिको इन्टरनेटमा रमाउनेलाई सहज भएको छ, ‘इन्टनेटले सेवाग्राहीलाई आर्कषित गर्नेछ’ शाहले भने । उनका अनुसार क्याम्पसचोक बाहेक टेलिकमको आफ्नै कार्यालय र बेनी नगरपालिकाको पुलाचौर र मालिका गाउँपालिकाको देवीस्थानको रुन्मामा रहेको टावरमार्फत फोरजी सेवा सञ्चालन गरिने छ ।

यसैबीच बजारी क्षेत्रमा टेलिकमको उच्च गतिको फाइबर नेट (एफटीटीएच) सेवाको विस्तार कार्य समेत भइरहेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले बताए । फाइबरबाट इन्टरनेट र टेलिफोनका साथै निकट भविष्यमा टेलिभिजन पनि हेर्न मिल्ने हुँदा अहिले फाइबर बिच्छ्याउने कार्य भइरहेको उनको भनाई छ ।

टेलिकमले आगामी ६ महिनाभित्र अधिकांश ठाउँमा फोरजी सेवा सञ्चालन गर्ने बताएको छ। यसैबीच नेपाल टेलिकमको फोरजी सेवा पुगेका ठाउँमा थ्रीजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सक्छन्। तर यसका लागि सिम चेक गर्नुपर्छ। सिमले फोरजी सपोर्ट गर्ने नगर्ने थाहा पाउनका लागि *444# डायल गर्नुपर्छ। टेलिकमले फोरजीको गति १३० एमबीपिएस हुने बताएको छ।