म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको तेस्रो महाधिवेशनबाट अध्यक्षमा ओमनारायण जुग्जाली निर्वाचित भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिमका जुग्जाली दक्षिण कोरियाका सफल नेपाली ब्यवसायी हुन् । मोनासँगै एनआरनए लगाएत थुप्रै नेपाली संघसंस्थामा आवद्ध रहेका जुग्जालीसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी ।

तेस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।

धन्यवाद, सम्पूर्ण प्रवासी म्याग्देलीलाई यो अवसर दिनुभएकोमा । मैले आफ्नो कार्यकालमा प्रवासी म्याग्देलीको हितका हुने गरी विभिन्न रचनात्मक कार्यहरुसँगै संस्थागत विकासलाई केन्द्रित गरेर काम गर्नेछु ।

मोनाको सञ्जाल विश्वका कति राष्ट्रमा छन् त ?
हालसम्म २० वटा देशमा आधिकारिक मोनाको सञ्जाल छ । त्यस्तै ८ वटा देशबाट प्रतिनिधिको रुपमा सहभागि छन् । हालसम्म मोनाको गतिविधि भइरहेका देश बाहेक पनि धेरै देशहरुमा म्याग्देली रोजगार तथा ब्यवसायको सिलसिलामा पुगेको देखिन्छ । अव मेरो कार्यकालमा विश्वभरका म्याग्देलीहरुलाई एउटै सञ्जालमा जोड्ने गरी मोना गठन नभएका देशहरुमा समेत पुग्ने योजना रहेको छ । मोनाको महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका देशले समेत अव नामलाई मोनामा रुपान्तरण गर्नेछन् । महाधिवेशनबाट प्रवासीलाई गोलबद्ध गरी संस्थागत गतिविधिमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छु ।

धेरै म्याग्देली भएका देशहरुमै मोना गठन भएको छैन, यसलाई कसरी लिनुहुन्छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो, खाडीमुलुकमा धेरै म्याग्देली छन् । त्यहाँ सक्रियरुपमा मोनाको अभिायनमा लाग्नुभएका साथीहरुको सहयोगमा बाँकी भएका देशमा गठन हुन्छ । मलेसियामै म्याग्देलीको सञ्जाल छैन् । त्यस्तै अन्य विभिन्न देशहरुमा समेत मोनाको स्थापना आवश्यक छ । जहाँ म्याग्देली छन् त्यहाँ मोना गठन हुन्छ । अव हामीले तथ्याङ्क संकलन गरी मोना स्थापनालाई तिब्रता दिन्छौ । अफ्रिकी देशहरुमा पनि म्याग्देली हुनुहुन्छ । अफ्रिका संयोजक तोकेर उहाँसंगै अफ्रिकामा रहेका म्याग्देलीहरुसम्म पुग्ने छौ । यूरोप, खाडी लगाएत विश्वभरका म्याग्देलीलाई आफ्नो देशको जानकारी सहित अभियानमा सहभागि हुन अनुरोध गर्दछु । अबको पहिलो बैठकले बार्षिक कार्ययोजनामा मोना गठन तथा तथ्याङ्क संकलनलाई प्राथमिकता दिनेछु ।

मोना स्थापनाको धेरै बर्ष भइसक्यो, मोनामार्फत जिल्लामा लगानीको आधार पनि बनेको छ, तपाईको कार्यकालमा के हुन्छ?
मेरो पहिलो काम संस्थागत विकास नै हुन्छ । त्यसपछि मोनाका हरेक अभियानलाई तिब्रताका साथ अगाडी बढाउनु, मोनामार्फत जिल्लामा आर्थिक, सामाजिक तथा सांस्कृति सहित विभिन्न पक्षमा सहयोग गर्ने हुन्छ। त्यसपछि मोनामार्फत हामीले जिल्लामा सामुहिक लगानीको प्रयासलाई जोड दिन्छौ । पहिलो काम संस्थागत अनि दोस्रो लगानीको वातावरण नै हो। मोनामा आवद्ध भएकाहरुमार्फत नै म्याग्दीमा जलविद्युतमा लगानी भित्रिएको छ । अन्य लगानीमा पनि त्यस्तै अवसर मिलेको छ । त्यसैले मोनाले संस्थागतसँगै जिल्लालाई फाईदा हुने विभिन्न गतिविधिमा केन्द्रित भएर योजना बनाउने छ । म्याग्देलीको अगुवाईमा अन्य जिल्लाबाट विदेशमा रहेकालाई समेत लगानी गर्ने क्षेत्रका बारेमा जानकारी सहित अभियानमा सहभागी हुन अनुरोध गर्नेछौ ।

अबको महाधिवेशन कहाँ हुन्छ त ?
हामीले हरेक महाधिवेशनलाई जिल्ला सदरमुकाम बेनीमै गछौ । महाधिवेशनलाई जिल्ला बाहिर गर्दा नेपालमै आएका प्रतिनिधिहरुले समेत समय ब्यवस्थापनमा समस्या भएको छ। त्यसैले महाधिवेशनलाई सदरमुकाम बेनीमा गर्ने छौ भने बार्षिक साधारणसभालाई जिल्लाका स्थानीय तहमा आलोपालो गर्ने सहमति भइसकेको छ । सदरमुकाम बेनीमा गर्दा सहभागीको संख्या पनि अत्याधिक हुने तथा ब्यवस्थापनमा पनि सहज हुने भएकाले महाधिवेशनलाई सदरमुकाम मै गर्ने निर्णय भइसकेको छ ।

Leave a Reply