जेसीज कप फुटबल मंसिर १०-१४ गते हुने

म्याग्दीमा विद्यालयस्तरमा निकै लोकप्रिय जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर १०–१४ गतेसम्म हुने भएको छ । १८ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको बारेमा शनिबार आयोजित पत्रकार सम्मेलनमा माध्यामिक तहस्तरीय प्रतियोगिताको तयारी सुरु भएको बताउँदै जिल्लाका सबै माविलाई प्रतियोगितामा सहभागिताको अपिल समेत गरिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा मुल संयोजक हरि भण्डारीले प्रयोजक सहित आवश्यक तयारी सुरु भएको बताए । उनले प्रतियोगितालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताए ।

त्यस्तै म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरले विद्यालयस्तरमा लोकप्रिय प्रतियोगिताबाट स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीको उत्पादन गरेको बताए । उनले जिल्लामा जेसीज कपले आफ्नो छुट्टै पहिचान बनाएको बताउँदै सामुदायिक तथा नीजि विद्यालयमा रहेका खेलाडीको पहिचानमा सहज भएको बताए । म्याग्दीबाट फुटबल प्रतियोगितामा राष्ट्रियस्तरसम्म पुगेका खेलाडीहरु समेत म्याग्दी जेसिजकै प्रतियोगितामा सहभागि भएका छन् ।

प्रतियोगितामा विजेतालाई ४५ हजार, उपविजेता ३० हजार, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, स्ट्राइकर, मिडफिल्डर, राईजिङ प्लेयर,कोच र अनुशासित टिमलाई २१ सय, ट्रफी मेडल, प्रमाणपत्रले सम्मान गरिने जनाइएको छ । प्रतियोगितामा बेनपा–८ घरभई शिक्षाको सिलसिलामा यूकेमा मृत्यु भएका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उनका परिवारले दुई लाख पचास हजार रुपैयाँ र निर्वतमान अध्यक्ष कमल विश्वकर्माले स्वर्गीय बुबाको स्मृतिमा १ लाखको अक्षय कोष स्थापना गरेका छन् ।कार्यक्रमको सञ्चालन महासचिव सन्दिप खत्रीले गरेका थिए ।